हलिउड अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती आफ्नै घरमा मृत भेटिए

काठमाडौं । ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान, उनकी श्रीमती बेट्सी अराकावा र उनीहरूको कुकुर एक घरमा मृत फेला परेका छन्।
९५ वर्षीय जीन आफ्नी श्रीमती ६४ वर्षीया बेट्सीसँग न्यु मेक्सिकोको सान्ता फेमा रहेको आफ्नो घरमा बस्थे। जीनको फिल्म करियर छ दशकभन्दा बढी समयसम्म फैलिएको थियो।
आफ्नो फिल्मी करियरमा उनले दुई एकेडेमी अवार्ड, दुई बाफ्टा अवार्ड, चार गोल्डेन ग्लोब अवार्ड र एक स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका छन्।
न्यू मेक्सिकोको सान्ता फे काउन्टी प्रहरीले यस घटनाको बारेमा एक विज्ञप्ति जारी गरेको छ।
यसमा प्रहरीले भन्यो, “हामी पुष्टि गर्न सक्छौं कि जीन ह्याकम्यान र उनकी श्रीमती बुधबार दिउँसो आफ्नो घरमा मृत फेला परेका थिए। अनुसन्धान अझै जारी छ। यद्यपि, यस बिन्दुमा हामीलाई घटनास्थलमा कुनै अपराध भएको विश्वास छैन।”
ह्याकम्यानले १९७१ को थ्रिलर द फ्रेन्च कनेक्सनका लागि उत्कृष्ट अभिनेताको अवार्ड जिते। साथै, उनले १९९२ को फिल्म ‘अनफर्गिभन’ को लागि सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार जिते।
Facebook Comment