तिमी

हृषीकेश ढकाल
१७ फागुन २०८१ ७:११

“मेरा दिल तेरे लिये
धड़कता है …होऽऽओऽऽ…
… होऽऽओऽऽ… धड़कता है…”

प्रेमार्पण!

The theoretical, made real-
Once intangible within my heart, now tangible.
To me, you are love made manifest.
The very embodiment of love itself…

तिमी।
केवल तिमी।
सिर्फ तिमी।
अनि?
अनि म अनि तिमी।
अनि, अनि?
अनि म अनि तिमी अनि हामी।

के लेखुँ? पहिल्यै परमात्माको अप्रतिम लेखन हौ तिमी। के कुँदुँ? मेरा लागि परमात्माबाट पहिल्यै तयार एक पूर्ण प्रेममुरत! के रंग थपुँ ? मनश्चक्षुको दृश्यपटमा सप्ताश्वको पूर्ण वर्णपट – इन्द्रेणीरंग हौ तिमी।
के सोचुँ? असोचनीय मेरा मगजबाट, पहिल्यै ईश्वरको अद्वितीय रचना हौ तिमी।

के लेखुँ ?

शब्द मेरा झुत्रा छन्, झुत्रा नै शब्दका स्वप्न तर सुन्दरतम छन्।
मेरा स्वप्नशब्दका शब्दमहल तिमी।
सिसमहल, दिलकी प्रेममहल तिमी।
अनि मेरा शब्दपुष्पबाट शुश्रूषु-सुषोभित, हृद्महल भित्रकी प्रेमगद्दीमा विराजित, हृदयेश्वरी तिमी।

के लेखुँ ?
तिमी… भावनाहरू भक्कानिन्छन्, अनि कलमहरू रोक्किन्छन्, सोचहरू घोरिन्छन्। आँखाहरू तिम्रा कलात्मक अस्तित्वमा टोलाउँछन्।

एक सागर सरी अवर्णनीय-पहिल्यै परमात्माका अनुपम समुद्रीय लेखनमा फिक्का हुन पुग्छन् मेरा शब्दहरू, विस्तीर्ण सागरमा एक कण झैँ बिलाईजान्छन् मेरा अभ्यन्तरका दास्ताँहरू-कहानीहरू, मुटुका अव्यक्त प्रेम उपन्यासहरू, मनका अमूर्त प्रेमगीतहरू, हृदयका अलिखित कविताहरू।फुर्न उत्कट निराकार गजलहरू। जसरी सागर बुझ्न भनी हिँडेको नुनको पुतली-मेरा शब्द। उतै बिलाईजान्छन् मेरा शब्दहरू, विराट तिमी मै! घना तिमी मै। विस्तीर्ण प्रेमप्रसार मै। तिम्रा वर्णन लिई आउन भनी हिँडेका मेरा गोटा चारएक गरिब-जीर्ण शब्दहरू उतै हराउँछन् तिमी एक अनमोल शब्दरत्नसागरमा, सागर बुझी आउँछु भनी हिँडेको एक नुनको पुतली झैँ जसरी बिलाईजान्छ, तिमी एक प्रेमसागरमा! शब्द। मेरा शब्द। प्रेमका तिमी पुराका पुरा सात समन्दर, छिचोल्नै नसकिने प्रेमआँधीको बबन्डर। तुफान। चित्तको तुफान! मनोलोकको समुद्रीय तुफान। ज्वारभाटा। अन्तःकरणको समुद्रमा तिमी पूर्ण चन्द्रमाले अनवरत जगाएकी अनन्त ज्वारभाटा। ज्वारभाटा। धड्कनहरूका! तड्पनहरूका। तिमी प्रियतमा। प्रियतमा तिमी तड्पनहरूका डर अनि ती डराएका धड्कनहरूका पुरै भर। र, र मायाँको सानु एक घर। प्रेमको तिमी चिटिक्क घरबार। स्वप्नबाग बिच मोहक दरबार। तिमी मायाँको दरबार … नआउन् कष्टहरू जिन्नगी नामको दरबारमा, छेक्ने तारबार। सहयात्रामा आइहाले संसारिक व्यवधाहरू, शक्तिले तिम्रो शक्तिमान् हुन्छु म, मेरी शक्ति नामकी तिमी तरबार।

कवच हुन्! साथहरू शस्त्र हुन्! आत्मविश्वास नामका अस्त्र हुन्।

सहयात्रामा जिन्गीका सकसहरू रोक्ने, छेक्ने अनि भईपरिहाले तिनलाई निस्तेज तुल्याउने आत्मविश्वास नामको शस्त्र! अनि पारलौकिक परमानन्दी प्रेमानन्दमा विचरण गराउने शास्त्र!…मेरी एक मात्र प्रेमशास्त्र…

शस्त्र पनि अनि शास्त्र पनि। प्रेम नामको शास्त्रार्थ पनि। प्रेमको साधन पनि अनि प्रेम नामको साध्य पनि।

परमात्माको प्रेमोपहार मेरा लागि, प्रेमको सौन्दर्यशास्त्र तिमी, रहस्यमयी एक समुद्र शास्त्र! एक समुद्र शास्त्र-जहाँ रहस्यहरू सघन छन्, प्रेमरहस्यहरू भरमार, बडा जतन छन्। एक समुद्र शास्त्र-जहाँ हरेक अदाका भरमार आफ्नै बयाँहरू छन्, निहीत-अन्तर्निहित हरेक अदाकारीमा अन्तर्निर्मित बग्रेल्ती शर्मोहयाहरू छन्। ठम्याउँदा ठम्याउँदै ती अदाहरू, सहजै कटिजानेछन् मेरा यी जिन्दगानीहरू।

ठम्याउनै मुश्किल एक रहस्य, युक्त छन् अदाहरू एक कोटी-प्रेमरहस्य तिमी। रातको समुन्द्र झैँ! रातको समुद्रीय रहस्य झैँ, जटिल, घना, सघन… रहस्यमयी सामुद्र प्रचुर रोमाञ्च हौ तिमी; धेरै बेचैनी अनि उस्तै रोमाञ्च! कहानी… तिमी एक हसिन कहानी.. प्रेम कहानी… मेरी एक मात्र प्रेम कहानी…

प्रेममा तड्पनहरू रोमाञ्च पनि बोकी ल्याउँछन्। रोमाञ्च घोलिएको तड्पन अनि रोमाञ्चक कौतुहलता-हायलकायल एक प्रणयिता! रहस्यहरू कौतूहलता युक्त हुन्छन्। आस्ते-आस्ते रहस्योद्घाटनमा भरमार मजा! अझ प्रेम रहस्यहरूमा अजब प्रोक्त खुब गजब रोमाञ्चकता! तड्पन दिने प्रेमरहस्यहरू बडा रोमाञ्चक हुन्छन्।

छन् घना, प्रचुर छन् कालिमा, सगरका झैँ छन् श्यामलिमा, छन् वृहत् ती केशपाश फिँजिएका!

तिनमा यो दिलको उल्झन तिमी, उल्झँदा-उल्झँदा थाकेर पिरतीको मिठो सुवासयुक्त सुस्केरा छाड्दै प्रेमनिद्रा दिने मिठो सुल्झन तिमी। प्रणवको उच्चार्यमाण झैँ सुसाउँछन् निस्पट्ट काला रातका रहस्यमयी यी जिन्दगानीका समुद्रहरू-सामुद्रिक सुसाहटको गम्भीर गुञ्जन तिमी।प्रेमरहस्य तिमी…

छरिएका टिलपिलटिलपिल ताराहरू झैँ रामारुमी आकाशमा – छरिएका मोतीदाना फिँजारिएका केशपाशमा। तिम्रा! तिम्रा श्यामिका केशपाशमा। के रंग भरुँ? भावनाका अरुणिमा रंग दौडिएकी सामुन्द्री मुखश्री-घरी गम्भीर त घरी शालीन, शान्त-शीतल-सौम्य। घरी पोखिँदा उता दीप्तिमान् मुहारचन्द्रबाट दिल्लगी, अनि रोमाञ्चक यता बडा! बड़ा रोमाञ्चक यता पोखिन्छन् प्रेमका काउकुती।

रातको बडा रहस्यमयी समुन्द्र-सम्हालेर बडा सम्हालिनसक्नुको कौतुहलतायुक्त ढुकढुकी, नाचिरहेकी मुटु तिमी!

घना बाक्ला मेघमाला झैँ छन् केशपाश श्यामलता, काला जादु गर्छन्। कालो जादु हौ तिमी, टुनामुना। मोहन परमात्माको मोहक रचना-मोहनी तिमी, टुनामोहनी तिमी। नागबेली झैँ तरङ्गित हुन्छन् ती केशकान्ती-मेरा कठै यी दुई आँखा बबुरा-खुल्लाका खुल्ला, भ्रूमध्यमा गाँठिन्छन् अनि होस झ्याप्पै बन्द हुन्छ। वशीकरण विद्या तिमी! सारा सम्मोहन विद्याको रहस्य-रहस्य तत्त्व तिमी।

बग्रेल्ती भावनाहरूको भक्कानो हौ तिमी-फुटिजान्छन् यसै अनायासै! के कुँदुँ? आकृति तिम्रो मनश्चित्रमा दृश्यांकन हुँदा यसै अनायासै रसाई जान्छन् आँखाहरू! हर प्रेमाश्रुमा तिमी नै!

हर साश्रुमा तिमी नै।
हर्षाश्रुमा तिमी नै।
हर अश्रु हाम्फाल्छन् तिमी तिरै!
हर प्रेमाश्रुमा तिमी नै।

आँखाहरू तूलिका भइदिन्छन्
शून्यमा तिम्रा आकृति कोर्छन्
र, अश्कहरू तिम्रा रंग भर्छन्।
प्रेमको रङ्ग भर्ने पानीरंग-
प्रेमाश्रु हौ तिमी।

के कुँदुँ? पहिल्यै एक पूर्ण प्रेममुरत। बस! शब्दका आभूषण चढाउन खोज्दछु म। के रंग थपुँ? झुकेका नजर, हाँसेका अधर थपेर एक पिरतीको घुम्टो ओढाउन खोज्दछु म। प्रेमचुनरियाहरू गुलाबी। चुनरियाहरू अक्सर गुलाबी नै हुन्छन्! रंगिएर प्रेमरंगमा। तिम्रै रंगमा। गुलाब गुलाबी। गुलाबी गुलाब। प्रेमको रंग गुलाबी हुनुपर्दछ सायद! प्राणहीन मेरा शब्दका चुनरी जसै पर्दछन् माथमा तिम्रा, जुर्मुराएर जीवन्त उठ्तछन्! शब्दहरू मेरा धमाधम श्वास फेर्न थाल्दछन्! तब तिम्रा हुन्छन् शब्दहरू मेरा। प्रेमका हुन्छन्। तिमी हुन्छन्। तिम्रा प्रिय रंगका हुन्छन्!

म मेरा रंगहीन निस्सार शब्दहरूलाई तब गुलाबी देख्तछु। प्रेमको रंगमा देख्तछु। प्रेमको फागुमा हर्षोल्लास रंगिएर तिनलाई लास्यरत देख्तछु। ती उत्सवमा छन्! तानेर मलाई पनि नचाउँदछन्। पिरतीको नृत्य! जसरी वनमा हरिण। जीवनको रंगपर्व-तिमी फागुबहार!

प्रेमको हुनाले प्रेम आफ्नो हुन्छ, होइन भने प्रेमलाई कसले विजयी गर्न सक्यो र?! प्रेमले हरेकको दिल जितेको छ यहाँ।

व्याकुल मुटुका धड्कनहरू, तुल्याएर मत्थर तड्पनहरू, गराएर धिमा ती चालहरू, मन्द मन्द गरी आनन्दातिरेक प्रसारण गर्ने बडा प्रेमानन्दी हुन्छन् प्रेमका मुस्कानहरू। सुहासिनी प्रेममुस्कान तिमी। मुस्कानहरू शक्ति हुन्। हृद् हरण गर्ने हर्षातिरेक हुन्छन् मन्द मुस्कानहरू! त्यसमाथि एक प्रणयीका जीवन उज्याल्याउने प्रेमका सम्मोहक मुस्कानहरू ज्योति हुन्। प्रेमज्योति! ज्योतिस्मान् प्रेमज्योति नै रहिछ्यौ तिमी।

सम्मोहनी मौनी मुस्कान मै प्रेमको प्रियदर्शना अर्थचित्रण गर्ने प्रेमको मनोहर मुस्कान हौ तिमी। प्रियदर्शिनी मुस्कानले रोमहर्षण जगाउने रोमाञ्च हौ तिमी। प्रेमरोमाञ्च।

Your mellow smile
speaks of love,
Annihilated, I dissolve –
Into love’s vast cosmic ocean.
While vanishing into love’s embrace,
I smile back in silence –
The sacred language only love knows !

आँखा खुल्दा पनि तिमी नै
आँखा चिम्लँदा पनि तिमी नै
तिम्रा स्मृति हुँदा
संसारी विस्मृतिमा पनि तिमी नै,
अनि हर स्मृतिमा तिमी नै
जाग्रत, स्वप्न अनि सुषुप्तिमा तिमी नै।

तिमी। केवल तिमी। सिर्फ तिमी।

All yours,
Truly yours.
Never the other way around—
For love cannot be owned.
You are the whole, the boundless,
And I am but a fragment returning home.
All yours,
Truly yours…

hrisheekeshdhakal@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *