संवाद कविता श्रृङखला-६

प्रकाशचन्द्र खतिवडा
१७ फागुन २०८१ ७:०७

१,
“वकिल साव
एक्लै लखर लखर कता?
तपाईं मेरो भगवान बन्नोस न हौ
मुद्दा जित्नै पर्ने दवावमा पो छु म त
मुद्दा जिताउनोस न त हजुर”
“ए माडसाव पनि
म कसरी तपाईंको भगवान?
म त प्रतिबादीको मान्छे परेँ
तपाईं त बादी हैन र
तपाईंको पक्षमा फैसला गराउनलाई
मैले खुट्टो झिक्नु पर्छ
खुट्टो त्यसै कहाँ भिकिन्छ र?
नजराना कति ठिक पार्नु भा छ त हजुर?”

२,
“हेलो कनकलाल जी
के सोची बस्नु भा को?
अनुहार पनि मलिन छ त
ओठमा हाँसो देख्दिन नि
तपाईं हँसी मजाक गर्र्ने मान्छे
आज किन झोक्री रा को?”
“ए चनकलाल जी
सोच्ने कुरा धेरै छन् हौ
सोच्दा सोच्दै
अनुहार मलिन भा को
हाँस्नलाई दिल खुश छैन
भ्रष्टाचारको मुद्दा खेपी रा को।”

३,
“ओ विलाप जी
कता व्यस्त हौ हिजो आज?
नाक मुख देख्न पाइँदैन त
जागिर पनि छोड्नु भो रे
के गरी दिन कटाउनु भा छ?”
“ए तोया जी पो हुनु हुँदो रे छ
अकस्मात भेट भो गाँठे
गजब खुशी लाग्यो
ठेक्का पट्टा गरौँ भनी
मन्त्रालय धाउँदै छु पो
जागिर जाबो पैसै हुन्न
किन खाने जागिर?
ठेक्का पनि मिल्या छैन
यसो कथा कविता लेखी
दिन कटाइ रा छु।”

४,
“हजुरआमा
कति बर्ष पुग्नु भो हौ
के खानु भा को?
दुःख सुख के छ हजुर?
बाँडी चुँडी गर्नाेस्
शिर थापी बस्छु म त
आशिष दिनोस् हजुर”
“ए सानु नाति
कता बाट आ को?
चार बिसै पाँच पुगेँ है म त
उमेरले डाँडा काट्यो
दाँत सबै फुक्ली सके
नरम नरम हलुवा खा को
दुःख सुख घाम छायाँ हो
ठिक ठिकै छ आज सम्म
मर्नु बाँच्नु ठेगान छैन
निरोगी र दीर्घायूको
आशिष थाप बाबु।”

५,
“अरे रमेश बाबु
कहिले आउनु भो हौ?
भेट घाट पनि छैन
यात्रा कस्तो रह्यो?
नियात्रा लेख्नु पर्ने
गन्तब्य पुग्नु भो त?”
“नमस्कार रुद्रा भाउजू
बेलुकी मात्रै आको
भेटघाट गर्न आउनै थियो
यात्रा सुखद् रह्यो
नियात्रा त लेख्नै पर्ला
गन्तब्य पुगेरै त आ को।”

६,
“ओ सरोज भाइ
के छ हौ हालचाल ?
राजनीति कस्तो चल्दै छ त?
देशको त लय खुस्की सक्यो
सत्ता संचालनमा हस्तक्षेप गरन यार
युवा नेतृत्व किन तैँ चुप मै चुप भा को?”
“ए पोष्टप्रसाद दाइ
नमस्कार है मेरो
राजनीति सोचे जस्तो भएकै छैन
बास्तवमै देशको लय खुस्की सक्यो
सत्ता संचालनमा हस्तक्षेप गरौँ भन्यो
शिर्ष नेतृत्व नै तैँ चुप मै चुप भइ बस्छ फेरि किन?”

७,
“ए सुन्नोस त
तपाईंलाई चिने जस्तो लाग्यो
रोग भोकको विरुद्ध कविता लेख्ने
तपाईं अभय शर्मा हो त?
कहाँ जान हिँड्नु भा नि?
दह्रै झोला बोकी”
“हजुर
यहाँले त चिन्नु भयो
मैले चिन्न सकिन नि
रोग भोकको विरुद्ध कविता लेख्छु
म अभयै शर्मा हो त
इलाम जान हिँडेको हुँ
भोली कवि गोष्ठि छ के।”

८,
“अरे लालमोहन जी
कहिले आउनु भो हौ राजधानी बाट?
मन्त्री जी लाई भेट्नु भो त
कुन कुन योजना छनौट भयो?
खाने पानी पर्‍यो के त
शिक्षक दरबन्दी आवश्यक थियो
दरबन्दीको कुरा के चै भो त?”
“ए गुलाफचन्द जी पो
हिजो मात्रै आएँ राजधानी बाट
मन्त्रीसँग छस्स भेट भो
योजना टिपाउनै गाह्रो
खानेपानी अर्काे साल रे
शिक्षक दरबन्दी दिने नीति नै रोक्का रैछ
समुदायले नै व्यबस्थापन गर्नु पर्ने अरे।”

९,
“सांसद ज्यू
नमस्कार
गणतन्त्र अफाप सिद्धै भा को हो त?
संघीयता धान्नै गाह्रो
के विधि वितृष्णा पलायो हौ
मन बुझाउनै साह्रो”
“नमस्कार नमस्कार शेषप्रसाद जी
गजब कुरा उठाउनु भो
गणतन्त्र अफाप हैन
संघीयता त्यसको जरो
बुझाइ र हेराइमा फरक पर्न सक्छ
पार्टी र नेता शुद्धीकरण अब गर्नु पर्‍यो।”

१०,
“रमाकान्त तिमी किन नहाँसेको?
हाँसो खोस्यो कसले?
तिमी रुँदा परिवार रोला
तिमी हाँसे हाँँस्ला
बाबु आमा होलान तिम्रा
बाउ आमाका लागि पनि तिमीले हाँस्नु पर्छ”
“ठिकै भन्यौ उदयानन्द
रोउँ रोउँ मात्रै लाग्छ
गरिवीले खोस्यो हाँसो
दुःख पीडा भोगी रा छु
बाउ आमा छन डाँडाका जून घाम जस्तै
मैले हाँस्ने कोशिस गरी रा छु।”

सुन्दरहरैँचा-६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *