राष्ट्रपति पौडेल आज सराङकोट जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पोखरा जाँदैछन्। पोखरा–१८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न उनी पोखरा जान लागेका हुन्।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत अहिले बिहान १० बजे काठमाडौंबाट सिधै सराङकोट धाम पुग्नेछन्। उनले सराङकोट टपमा बनेका विशाल पञ्चमुखी गणेश मूर्ती, कैलाशेश्वर शिव मन्दिरलगायतका देवालय, १०८ शिललिङ तथा धाराहरु समेत उद्घाटन गर्नेछन्।
उक्त समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले सम्बोधन गर्नेछन्।
सराङकोटमा फागुन १४ गते शिवरात्रिदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ । महाउत्सवको तेस्रो दिन शुक्रबारसम्म ६५ लाख दान सङ्कलन भएको छ । सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ ।
हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्युटावर, बहुउद्देश्यीय भवन, भूमे कालिका र स्वागतद्वार बनिसकेका छन् ।
Facebook Comment