‘झ्याइँ’को सफलतामा उत्साहित मञ्जयाश्री, अर्को नेपाली-बलिउड फ्युजन गीत ल्याउने

काठमाडौं। नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ ।
‘झ्याइँ’ को अपार सफलताले नेपाली मौलिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने मार्ग प्रशस्त गर्यो र यही उत्साहबीच मञ्जयाश्री अब एक चर्चित बलिउड सेलिब्रेटीका साथ नयाँ साङ्गीतिक प्रोजेक्टमा देखिन लागेकी छिन् । नयाँ गीत पनि नेपाली र बलिउडको संयुक्त प्रस्तुतिमा हुने गायिका भट्टले बताएकी छन् ।
गत वर्ष अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको सो गीतमा नेपाली र हिन्दी सङ्गीतको अनौठो संयोजन प्रस्तुत गर्दै नेपाली लोकगीत ‘झ्याइँ पार्यो मलाई रत्यौलीको झिल्केले झ्याइँ पार्यो’को प्रमुख अंशलाई समेटिएको छ ।
अमेरिकामा जन्मे-हुर्केकी मञ्जयाश्री र चर्चित बलिउड गायक देव नेगीको आवाजमा रहेको ‘झ्याइँ’ले नेपाली र भारतीय सङ्गीतप्रेमीहरूलाई साझा साङ्गीतिक यात्रामा पुर्याएको थियो । यस गीतले मञ्जयाश्रीलाई भारत र नेपालमा चिनाउन मद्दत गरेको छ । यस गीतले युट्युबमा ८ करोड ४५ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ भने संसारभर ट्रेन्डिङ भएको थियो ।
नेपाली श्रोता तथा दर्शकहरूलाई सम्बोधन गर्दै गायिका मञ्जयाश्री भनिन्, “झ्याइँलाई विश्वभरका नेपाली तथा भारतीय दर्शकहरूले जसरी माया गर्नुभयो, मेरा आउँदै गरेका प्रोजेक्टहरूलाई पनि त्यही साथ र समर्थन मिल्नेछ भन्ने विश्वास छ । म सम्पूर्ण नेपाली दर्शकहरूलाई धेरै धेरै माया व्यक्त गर्न चाहन्छु ।” भट्टका अनुसार आगामी प्रोजेक्ट नेपाली र बलिउड सङ्गीतको फ्युजनलाई अझ नयाँ उचाइमा पुर्याउने उद्देश्यले निर्माण गरिँदै छ ।
‘झ्याइँ’ म्युजिक भिडियोको निर्देशन बलिउडका अनुभवी छायाकार तथा निर्देशक विनोद प्रधानले गरेका हुन्, जसले ‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपर हिट बलिउड चलचित्रहरू छायाङ्कन गरेका छन् । प्रधानले ‘कुसुमे रुमाल’, ‘सम्झना’ लगायतका नेपाली चलचित्रहरू समेत छायाङ्कन गरेका छन् ।
निर्देशक प्रधानले यो म्युजिक भिडियोमा काम गर्दा नेपाली र हिन्दी सङ्गीतको फ्युजनको रूपमा निकै नयाँ र रोमाञ्चक अनुभव गरेको बताए । उनले भने, “मैले पहिलो पटक नेपाली र हिन्दी गीतको फ्युजनमा काम गरेको हुँ । नेपाली दर्शकहरूले यसलाई अत्यन्तै मन पराउनु भयो ।”
‘झ्याइँ’ मुम्बईको भव्य एम्पिरियल प्यालेसमा छायाङ्कन गरिएको थियो । गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ, र मास्टरिङ चर्चित सञ्जय लीला भन्साली तथा धर्मा प्रोडक्सनका चलचित्रहरूसँग काम गरिसकेका राहुल शर्माले गरेका थिए । कोरियोग्राफी ‘पठान’ र ‘वार’ जस्ता चलचित्रहरूमा नृत्य निर्देशन गरिसकेका बोस्को सिजरले गरेका छन् ।
Facebook Comment