‘लाज शरणम्’लाई ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ

डिसी नेपाल
१९ फागुन २०८१ १०:२८

काठमाडौं। चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ। आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र चल्यो।

काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो चलचित्रले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ। बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो।

दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ। दर्शकको साथ रहेकाले व्यापार पनि राम्रो गर्नेमा निर्माणपक्ष विश्वस्त छ। सामान्यतया आइतबारदेखि बिहीबारसम्म बिदा नहुँदा दर्शकको चाप देखिँदैन। तर, ‘लाज शरणम्’मा आइतबार पनि उत्साहजनक साथ रहेकाले निर्माण चलचित्रको व्यापार पुनः बढ्दै जाने बताउँछ।

महेश त्रिपाठी र धुर्मुसको भूमिकालाई दर्शकले विशेष रूपमा मन पराइरहेका छन्। समसामयिक विषयलाई उठान गरेकाले हेर्नैपर्ने सिनेमा भन्दै दर्शकले तारिफ गरिरहेका छन्। सामाजिक कथासँगै कमेडी पनि भएकाले दर्शकले रुचाएको निर्माणपक्षले दाबी गरहेको छ।

सिनेमाको प्रचारका लागि दर्शक भेट्न कलाकारहरू हलहलमा पुगिरहेका छन्। कलाकारको एउटा टोली काठमाडौंका हलहलमा पुसगरहेको छ भने अर्को टोली पोखरामा छ।

वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको थियो।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्।
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्।

चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । पहिलो दिन यो चलचित्रले एक करोड १० लाख रुपैयाँ कलेक्सन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *