फिल्म क्षेत्रको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड ट्रफीको मूल्य केवल १ डलर !

काठमाडौं । चलचित्र क्षेत्रको विश्वकै सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड समारोह अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको छ । यस पटक यौनकर्मीको कथामा आधारित फिल्म अनोराले सर्वोत्कृष्ट फिल्मसहित ५ विधामा अवार्ड जितेको छ ।
चलचित्र क्षेत्रको सबैभन्दा प्रतिष्ठित यो अवार्ड जित्ने विजेतालाई एउटा ट्रफी प्रदान गरिन्छ । यसलाई चलचित्र क्षेत्रमा विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने हुँदा यसको ट्रफीको मूल्य पनि धेरै होला भन्ने हामीलाई लाग्न सक्छ । तर, वास्तवमा यो ट्रफीको मूल्य मात्रै १ डलर अर्थात आजको विनिमय दरअनुसार नेपाली मुद्रामा १४० रुपैयाँ पर्छ ।
ओस्कार अवार्ड ट्रफीमा सुनको जलप लगाइएको हुन्छ । १३.५ इन्च अग्लो र ८.५ पाउण्ड तौलको यो ट्रफी बनाउन भने धेरै खर्च लाग्छ । प्रत्येक विधामा ओस्कार अवार्ड जित्ने विजेतालाई छुट्टाछुट्टै प्रदान गरिने यी ट्रफीहरु बनाउन एउटाको ४०० डलर अर्थात नेपाली रुपैयाँमा ५५ हजार पर्छ । तर, यो ट्रफी बेच्दा भने १ डलर मात्रै पाइन्छ ।
ओस्कार अवार्ड प्रदान गर्ने आधिकारिक संस्था एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेजले १९५१ देखि एउटा नियम लागू गरेको छ । यो नियमअनुसार ओस्कार विजेताले आफूले पाएको ट्रफी बेच्न चाहेमा सबैभन्दा पहिले अवार्ड प्रदान गर्ने एकेडेमीलाई नै बेच्न प्रस्ताव गर्नुपर्छ । एकेडेमीले नकिनेमा मात्रै यो ट्रफी अन्यत्र बेच्न पाइन्छ ।
एकेडेमीले यो अवार्ड जित्ने विजेताबाट आफूले फिर्ता किन्नुपरेमा यसको मूल्य केवल १ डलर दिने नियम बनाएको छ । यो मूल्य प्रतीकात्मक हो । त्यसैले अवार्ड जित्नेले ट्रफी बेच्न चाहेमा एकेडेमीलाई प्रस्ताव गर्नुपर्छ र एकेडेमीले केवल १ डलरमा किन्छ । १९५१ मा यो नियम लागू भएपछि अहिलेसम्म कुनै पनि ट्रफी वैधानिक रुपमा बिक्री गरिएका छैनन् ।
यद्यपि १९५१ भन्दा अगाडि प्रदान गरिएका अवार्ड ट्रफीहरु भने आधिकारिक रुपमै महंगो मूल्यमा बिक्री भएका छन् । १९३९ मा फिल्म ‘गन विथ द विन्ड’ लाई प्रदान गरिएको सर्वोत्कृष्ट फिल्मको अवार्ड ट्रफी १९९९ मा १.५४ मिलियन डलरमा बिक्री भएको थियो ।
यस्तै १९४१ मा फिल्म ‘सिटिजन केन’लाई प्रदान गरिएको सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड ट्रफी २०११ मा ८ लाख ६१ हजार डलरमा बिक्री भएको थियो । १९४९ मा फिल्म द हायरेसलाई प्रदान गरिएको ओस्कार ट्रफी पनि २०११ मा एउटा लिलामी घरले बिक्री गर्ने प्रयास गरेको थियो तर एकेडेमीले कानुनी प्रक्रिया अगाडि बढाएपछि लिलामी रोकिएको थियो ।
१९५१ पछि प्रदान गरिएका केही अवार्ड ट्रफीहरु पनि अवैध रुपमा बिक्री गरिएका चर्चाहरु चलेका भए पनि आधिकारिक रुपमा पुष्टि भएका छैनन् । १९५४ मा फिल्म द वाटरफ्रन्टका लागि मार्लोन ब्रान्डोलाई प्रदान गरिएको अवार्ड उनको मृत्युपछि गैरकानुनी रुपमा बिक्री गरिएको चर्चा चलेको थियो तर यसको पुष्टि हुन सकेको छैन । यसबाहेक अन्य केही बिक्री प्रयासहरु एकेडेमीले कानुनी प्रक्रिया अगाडि बढाएपछि रोकिएका थिए ।
Facebook Comment