कांग्रेस सभापति देउवा पुगे रुपन्देही, शेखर कोइराला लागे विराटनगर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन्। नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा पत्नी आरजु राणा देउवाका साथमा सोमबार बिहान विमानमार्फत भैरहवा पुगेका हुन्।
देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए। सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
यसअघि कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले कास्कीको पोखरामा आयोजना गरेको थियो। देउवा रुपन्देही पुग्नुअघि नै कांग्रेस नेता डा.शेखर कोइराला भने विराटनगर हिँडेका छन्। उनी प्रशिक्षण कार्यक्रममा सहभागी हुने छैनन्।
पोखराको कार्यक्रममा नबोलाएको रिसमा सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने प्रशिक्षणमा पनि शेखर सहभागी नहुने भएका छन्। शेखरको निजी सचिवालयले विराटनगरमा पहिल्यै कार्यक्रम तय भइसकेकाले सहभागी हुन नसकेको बताएको छ। तर शेखर भने १५औं महाधिवेशनमा सभापतिमा लड्ने तयारीस्वरूप पार्टी सभापति देउवाविरुद्ध गतिविधि गर्दै आएका छन् ।
Facebook Comment