अमेरिका पन्छिएपछि युक्रेनलाई सघाउन यस्तो बन्यो युरोपको साझा रणनीति

डिसी नेपाल
१९ फागुन २०८१ ११:४०

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनलाई १.६ बिलियन पाउण्ड (२ अर्ब डलर) रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । यो पैसाबाट युक्रेनले ५ हजार हवाई रक्षा मिसाइल किन्नेछ।

स्टारमरका अनुसार यी मिसाइलहरू बेलायतको बेलफास्टमा निर्माण गरिनेछ, जसले बेलायतको रक्षा क्षेत्रमा रोजगारी बढाउनेछ। एक दिन अघि उनले जेलेन्स्कीलाई २.२ बिलियन पाउण्ड ऋण दिने कुरा गरेका थिए। स्टारमरले अमेरिका धेरै दशकदेखि आफ्नो देशको विश्वसनीय साझेदार रहेको र भविष्यमा पनि यस्तै रहने पनि बताए ।

युक्रेन युद्धको मुद्दामा युरोपेली देशहरूको रक्षा शिखर सम्मेलनपछि बेलायती प्रधानमन्त्रीले यी कुराहरू भनेका हुन् । यस बैठकमा १५ देशका राष्ट्र प्रमुखहरू, टर्कीका विदेशमन्त्री, नेटोका महासचिव, युरोपेली संघका अध्यक्ष र युरोपेली परिषद्का सदस्यहरू उपस्थित थिए।

स्टारमरले भने ‘हाम्रो सरकारको पहिलो प्राथमिकता बेलायती जनतालाई सुरक्षा प्रदान गर्नु र विशेष गरी यी कठिन समयमा उनीहरूको हितको रक्षा गर्नु हो । हाम्रो प्रयास युक्रेनलाई बलियो स्थितिमा राख्नु हो। हामी युक्रेनको लागि हाम्रो समर्थन दोब्बर गर्दैछौं।’

स्टारमरले शिखर सम्मेलनमा नेताहरूले युक्रेनलाई सैन्य सहायता जारी राख्न र रूसमाथि आर्थिक दबाब बढाउन सहमति जनाएको बताए। कुनै पनि शान्ति वार्तामा युक्रेनलाई समावेश गर्नुपर्नेमा पनि युरोपेली नेताहरू सहमत भएका छन् ।

स्टारमर भन्छन् ‘सम्झौतामा रूसलाई पनि समावेश गर्न आवश्यक हुनेछ, तर रूसले पहिले पनि धेरै पटक सम्झौताहरू उल्लङ्घन गरिसकेको छ, यस्तो अवस्थामा हामीले युक्रेनलाई दिइएको ग्यारेन्टीहरू प्रभावित हुनुहुँदैन भन्ने निर्णय गर्नुपर्नेछ। थप द्वन्द्वबाट बच्न ग्यारेन्टीहरू आवश्यक छन्।’

यो बैठकअघि स्टारमरले बेलायत, फ्रान्स र युक्रेनले रुस-युक्रेन युद्ध रोक्नको लागि योजनामा ​​मिलेर काम गर्न सहमत भएको बताएका थिए। यो योजना अमेरिका समक्ष राखिनेछ। उनले भने ‘अमेरिकाले आफ्नो सुरक्षा ग्यारेन्टीमा अडिग रह्यो भने मात्र यो योजनाले काम गर्नेछ।’

बैठकपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले भनिन् ‘हामीले युक्रेनलाई तुरुन्तै हतियार दिनुपर्छ। हामीले रक्षा लगानी बढाउनु पर्छ। यो युरोपेली संघको सुरक्षाको लागि महत्त्वपूर्ण छ। हामी अहिले नै सबैभन्दा खराब अवस्थाको लागि तयार हुनुपर्छ। यससम्बन्धी प्रस्ताव मार्च ६ मा युरोपेली परिषद्मा प्रस्तुत गरिनेछ।’

नेटो महासचिव मार्क रुटले भने ‘युरोपेली देशहरूले युक्रेनको लागि सुरक्षा खर्च र समर्थन बढाउन कदम चाल्नेछन्। अहिलेसम्म कुनै शान्ति सम्झौता भएको छैन, तर हामी यसको लागि तयार हुनुपर्छ र युरोपेली देशहरू सुरक्षा ग्यारेन्टीमा सहयोग गर्न तयार छन् भनी सुनिश्चित गर्नुपर्छ।’

पोल्याण्डका राष्ट्रपति डोनाल्ड टस्कले भने ‘पश्चिमाहरू पुटिनको ब्ल्याकमेलमा झुक्ने छैनन्। सबैलाई थाहा छ आक्रमणकारी को हो र युरोपलाई कसले आफ्नो पक्षमा पारेको छ। अब ‘युरोप जागिसकेको छ’ र युक्रेनको समर्थन र इयुको पूर्वी सिमानालाई बलियो बनाउने विषयमा एक स्वरमा बोलिरहेको छ।’

जर्मन चान्सलर ओलाफ स्कोल्जले आजको बैठक धेरै महत्त्वपूर्ण भएको बताए। उनले भने ‘यो रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई युरोपको समर्थन देखाउने अवसर थियो।’

बेलायतले युक्रेनलाई २.२ बिलियन पाउण्ड ऋण पनि दिनेछ । यसका लागि बेलायती प्रधानमन्त्री स्टारमर र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार सम्झौतामा हस्ताक्षर गरेका छन्। द किभ पोस्टको रिपोर्ट अनुसार यो ऋण जी७ देशहरूको एक्स्ट्रा-ओर्डिनरी रेभेन्यू एक्सेलेरेशन पहल अन्तर्गत दिइएको हो।

यो ऋण युक्रेनको लागि आवश्यक हतियार खरिद गर्न प्रयोग गरिनेछ। गत वर्ष अक्टोबरमा जी७ देशहरूले युक्रेनलाई ५० अर्ब डलर सहयोग प्रदान गर्ने वाचा गरेका थिए।

युक्रेनलाई समर्थन गर्ने विषयमा दुई युरोपेली संघका सबै देशहरू सहमत भने छैनन्। युक्रेनलाई समर्थन गर्ने विषयमा युरोपेली संघ भित्र दरार देखिएको छ। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनलाई आर्थिक वा सैन्य सहायता प्रदान नगर्ने बताएका छन्। युक्रेनले सैन्य बल प्रयोग गरेर रुसलाई वार्ताको टेबलमा ल्याउन कहिल्यै सक्षम नहुने उनले बताए ।

यसअघि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि जेलेन्स्कीको विरुद्धमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका थिए। ह्वाइट हाउसमा दुई जनाबीचको बहसपछि उनले ट्रम्पलाई बलियो र जेलेन्स्कीलाई कमजोर भने। उनले ट्रम्पलाई धन्यवाद पनि दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *