स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्न कठिन हुँदैन : मुख्य प्रशिक्षक म्याट रोस

काठमाडाैं। नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपाली टीमलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगीता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताएका छन्।
सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले ललितपुरमा आयोजना गरेको अन्तक्रियामा उनले नेपाललाई एसियन कपमा छनोट गराउनेदेखि साफ च्याम्पियनसिप लगाएतका अन्तर्राष्ट्रिय प्रतियोगीता जित्नका लागि ध्यान केन्द्रीत गर्ने बताएका हुन्।
नेपालमा फुुटबलको प्यासन धेरै देखिएको भन्दै उनले फुटबल खेलको बिकासका लागि आफूले आवश्यक भूमिका खेल्ने जिकिर गरे। स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्नका लागि कठिन नभएको उनले बताए।
उनले नेपाली टीममा केहि सुधारको आवश्यकता आफूले देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलका साथ मैदान उत्रन जरुरी रहेको जिकिर गरे। आफ्नो कार्यकालमा दवावमुक्त भएर टीमको बिकासमा लाग्ने उनको भनाइ छ।
म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा एक बर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए।
उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन्। शाहले नयाँ प्रशिक्षक चयन भएसँगै नेपाली टीमलाई बलियो रुपमा अघि बढाउने विश्वास व्यक्त गरे। म्याट रोस डेढ महिनादेखि काठमाडौंमा रहेर नेपाली फुटबललाई नियालिरहेका थिए।
उनले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकाको सुरुवात गर्नेछन्। त्यस्तै नेपालले मार्च २५ मा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्दैछ।
Facebook Comment