संघीयता राम्रो बनाउन सरकारको ध्यान केन्द्रीत छ : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
१९ फागुन २०८१ २१:०८

अछाम । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले एकात्मक केन्द्रिकृत शासन व्यवस्थाभन्दा संघीयता राम्रो हो भन्ने बनाउन तीनै तहको सरकारले मिलेर काम गर्नुपर्ने बताएका छन्।

सोमबार अछामको पञ्चदेवल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था भएअनुसार आवश्यक संघीय कानुन चाँडोभन्दा चाँडो बनाउनेतर्फ सरकारको ध्यान रहेको पनि बताए।

‘आवश्यक संघीय कानुन बनाएर संविधानको अनुसूचीमा व्यवस्था भएको अधिकार तीनै तहको सरकारलाई दिएर जनतालाई सहज सेवा प्रवाह दिएर केन्द्रीकृत एकात्मक शासन व्यवस्था भन्दा संघीयता राम्रो हो भन्ने बनाउन सरकारको ध्यान केन्द्रीत छ,’ उनले भने। उपप्रधानमन्त्री सिंहले देशमा राजनीतिक स्थायित्व विना आर्थिक, सामाजिक विकास नहुने भन्दै राजनीतिक स्थिरताको जगमा आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेस र एमालेसहितका दल मिलाएर गठबन्धनको सरकार बनेको बताए। उनले प्रशासकीय भवन बनेसँगै अछाम पञ्चदेवलका नागरिकका लागि सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गरे।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले अछाम दरबारको पनि उद्घाटन गरे। सहरी विकास मन्त्रालय मातहतहत निर्माण भएको दरबार उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरे।

२०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको
थियो।

समग्र अछामको पहिचान बोकेको यो ऐतिहासिक दरबारलाई सदुपयोग गर्दै आउने पिढिलाई ऐतिहासिक महत्त्वको बारेमा जानकारी दिनुपर्ने मन्त्री सिंहले बताए। दरबारको विकास र बाँकी संरचना निर्माण गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए।

दरबारको पुनर्निर्माणको काम २ करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको हो। काठको बढी प्रयोग भएको कलात्मक उक्त दरबार तीन तले रहेको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवन बहादुर शाही, सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावल, मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरालगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *