हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौं : वनमन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिइने बताएका छन्। बजेट अभावले रोकिएको अभियानलाई निरन्तरता दिई जलवायु परिवर्तन न्यूनीकरणमा जोड दिने उनको भनाइ छ।
मन्त्री शाही र प्रधान सेनापति अशोकराज सिग्देलबीच आज मन्त्रालयमा भएको भेटमा उनले हिमाल सरसफाइको अभियानलाई निरन्तरता दिन आग्रह गर्दै मन्त्रालयका तर्फबाट आवश्यक सहयोगका लागि तयार रहेको बताए।
हिमाली क्षेत्रमा पर्वतारोहीहरूले छोडेको फोहोर सफाइ गरी वातावरणीय प्रदूषण न्यूनीकरण, हिमालको पवित्रता जोगाउने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सुरु भएको यो अभियानमा बजेटको कमीले समस्या उत्पन्न भएको थियो। मन्त्री शाहीले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे।
नेपालमा सगरमाथा, ल्होत्से, अन्नपुर्णलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गरी स्वच्छ राख्न सके हिमाल आरोहण गर्ने पर्वतारोहीसमेत बढ्ने मन्त्री शाहीको भनाइ थियो।
प्रकृति र पर्यावरणको प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रमलाई कार्यन्वयन गर्दै जाँदा बजेट अभावले समस्या उत्पन्न भएको नेपाली सेनाले जनाएको छ। प्रधान सेनापति अशोकराज सिग्देलले बजेट व्यवस्थापन भए यो अभियानलाई विशेष महत्वका साथ अगाडि बढाउन सेना तयार रहेको बताए। नेपाली सेनाले राष्ट्रिय कार्यक्रमलगायत वन संरक्षण, निकुञ्जको संरक्षणमा महत्वका साथ कार्य गर्दै आएको उनको भनाइ छ। विगत पाँच दशकदेखि निकुञ्ज र संरक्षण क्षेत्रको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ।
वन सचिव डा दीपककुमार खरालले वन तथा निकुञ्जको संरक्षणका निम्ति वन मन्त्रालयले नेपाली सेनालाई सक्दो सहयोग गर्ने बताए।
नेपालका १२ राष्ट्रिय निकुञ्ज र एक आरक्षमा नेपाली सेनाले संरक्षणको काम गरिरहेको छ। निकुञ्ज विभागमा महानिर्र्देशक डा रामचन्द्र कँडेलले जैविक विविधता, वन्यजन्तु संरक्षणका लागि नेपाली सेनासँग समन्वय र सहकार्यका लागि आफूहरू तयार रहेको बताए।
यसैबीच मन्त्री शाहीले मुगुको उत्तरी गमगढी नाक्चेनाङला सडक निमार्णको जिम्मा लिई सहयोग गर्न प्रधान सेनापतिलाई आग्रह गरेका थिए।
Facebook Comment