तराई मधेश जागरण अभियान: महोत्तरीको तयारीको लागि नेताहरु जनताको घर खोज्दै

डिसी नेपाल
२० फागुन २०८१ ९:१८

महोत्तरी। तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीका नेताहरु जनताको घर खोज्न व्यस्त वनेका छन् । अभियानमा सहभागी हुने अध्यक्षसहित पदाधिकारीहरुलाई २१ गते रातिको बासस्थानको लागि उनीहरु दौडधुपमा लागेका हुन् ।

यो अभियानले भुईमान्छेहरुको समस्या र अफ्ठ्याराहरुको पहिचान गर्ने भएकाले पनि जनताको घरलाई नै प्राथमिकतामा राखेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

माओवादी केन्द्रको पौष-२१ देखि २३ गतेसम्म बसेको बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने, सुझावहरु संकलन गर्ने र जनता पार्टी नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई-मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

यही अन्तर्गत फाल्गुन-१२ गते झापाको कचनकवलको वनियानी वजारवाट सुरु भएको यो अभियान २१ गते महोत्तरीको मटिहानी नगरपालिकामा प्रवेश गर्ने कार्यक्रम छ ।

सोही राति मटिहानी र जलेश्वरमा बस्ने र २२ गते सम्सी बजारमा बिशाल खुल्लासभा गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । ‘ धेरैजसो समय आधारभूत वर्गको घरमा विताउने र सम्बन्ध बिस्तार गर्ने पार्टीको निर्णयअनुसार महोत्तरीमा पनि पूर्ण तयारीमा लागेका छौ ।’ इन्चार्ज खडकाले भने । ‘पार्टीका सवै पदाधिकारीहरु अध्यक्ष प्रचण्डसहित उपस्थित हुने भएकाले हामी पनि निक्कै उत्साहित छौ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *