पारित नहुने देखेपछि भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउन डरायो सरकार

काठमाडौं। भूमिसम्बन्धी अध्यादेश पारित नहुने देखिएपछि सरकारले भूमिसम्बन्धी बाहेक पाँच वटा अध्यादेश बुधबार बस्ने प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ।
भूमिबाहेक अन्य पाँच वटा अध्यादेश बुधबार प्रतिनिधिसभा र बिहीबार राष्ट्रियसभामा पेश गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
भूमि बाहेकका अन्य पाँच वटा अध्यादेश पारित गर्न जसपा तयार भएको छ। जसपा नेपालसँगको सहमति अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अन्य पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।
जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए त्यसको विरुद्धमा मतदान गर्ने निर्णय लिएरपछि सरकार बाध्य भएर भूमि अध्यादेश रोक्न सहमत भएको हो। ‘भूमिसम्बन्धी अध्यादेशका विषयमा थप छलफल गर्नुपर्ने भएकाले त्यस बाहेकका अध्यादेश संसदमा निणयाार्थ पेश गर्ने सहमति भएको हो,’ बर्तौलाले डिसी नेपालसँग भने।
भूमिसम्बन्धीबाहेक आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश संसदको बैठकमा निर्णार्थ प्रस्तुत हुनेछन्।
Facebook Comment