ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दै

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ।
यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने चैत १२ गतेसम्म म्याद थप हुनेछ।
ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ। जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ।
त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।
आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो।
यो औषधि कम्पनी चितवन जिल्लास्थित भरतपुर महानगरपालिका वडा नं. २९ मा रहेको छ। आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख २६ हजार रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष रहेको छ।
Facebook Comment