ऋण फिर्ता माग्दा भाइको गोली हानि हत्या, बिहेको सात महिनामै श्रीमतीको सिउँदो पुछियो

डिसी नेपाल
२० फागुन २०८१ १३:२७

धनगढी । घटना गत शनिबारको हो। बैतडीमा दिएको ऋण फिर्ता माग्दा एक युवकले ज्यान गुमाउनु परेको छ।

दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टले दाइ नाता पर्ने ४५ वर्षीय कर्णबहादुर विष्टलाई चार वर्षअघि ४० हजार सापटी दिएका थिए।

उनले त्यस यता दाइ कर्णबहादुरलाई सापटी फिर्ता माग्दै आएका थिए। यही विषयमा पटक-पटक उनीहरूबीच विवादसमेत हुने गरेकोमा गाउँलेले मिलाउँदै आएका थिए।

सुरेन्द्र आफ्नै जिप चलाउथे। कर्णबहादुर कृषि गर्थे। दाइ कर्णबहादुरलाई ऋण भएकाले उनको गर्जो टार्न सुरेन्द्रले चार वर्षअघि ४० हजार सापटी दिए। तर, लामो समयसम्म उनको रकम फिर्ता भएन।

उनले रकम फिर्ता माग्न थाले। त्यही क्रममा उनीहरूबीच विवाद हुन थाल्यो। घटनाले यति उग्र रुप लियो कि। गत, शनिबार साँझ कर्णबहादुरले सुरेन्द्रको गोली हानेर हत्या गरिदिए।

सुरेन्द्र शनिबार राति घर नजिकैको होटेलमा खाना खाइरहेका थिए। त्यहीँ बेला कर्णबहादुर पुग्दा उनीहरूबीचमा लेनदेन विवाद भयो। विवाद बढेसँगै होटेलमा रहेका अन्य व्यक्तिले कर्णबहादुरलाई घर पठाए।

तर, घर गएका कर्णबहादुर केही बेरमा बन्दुक लिएर सुरेन्द्र खाना खाइरहेको होटेलमा पुगे। सुरेन्द्रको पछाडिबाट गोली प्रहार गरे। उनी घाइते भए। अस्पताल लैजादै गर्दा उनको बाटोमा मृत्यु भयो। कर्णबहादुर फरार छन्।

घरको कमाउने व्यक्तिकै दाइबाट गोली प्रहार भइ ज्यान गएपछि सुरेन्द्रको परिवार दु:खसँगै विचल्लीमा परेको छ।

प्रेम विवाह गरेको सात महिना मै १० कक्षामा अध्ययनरत श्रीमतीको सिउँदो पुछिएको छ। श्रीमानको हत्यापछि उनी अचेत अवस्थामा छिन्।

सुरेन्द्रकी आमा माइत गएकी थिइन्। उनी माइती घरमा हुँदा छोराको हत्या भयो। बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले कर्णबहादुरको खोजी तीव्र पारिएको बताएका छन्। उनले प्रयोग गरेको बन्दुक दर्तासमेत नरहेको उनको भनाइ छ।

उनी यसअघि पनि आपराधिक कार्यमा संलग्न व्यक्ति रहेको खुलेको छ। उनको नाममा पहिला वन मुद्दा थियो। उनी मृग मारेर फरार भएका थिए। तर, कारागार नबसेर आर्थिक र राजनीतिक शक्तिमा मुद्दा मिलाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *