कमजोर देशलाई आफूअनुकूल प्रयोग गर्ने पश्चिमा नीतिमा फसेको नेपाली राजनीति

डिसी नेपाल
२१ फागुन २०८१ ७:२८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएडको रकम रोकेपछि हामीजस्ता गरिब देशका जनतामा परेको प्रभाव सर्वसाधारण जनतामा भन्दा दलका नेता, बरिष्ठ कलाकार, पत्रकार र बुद्धिजीवी भनिनेहरुमा अत्यधिक परेको देखियो।

ती कथित बुद्धिजीवीहरुले पश्चिमाहरुबाट लिएको रकम सनातन वैदिक धर्म नासेर नास्तिक बनाउने र इसाइकरण गर्नको लागि दुरुपयोग भएको समेत देखियो। संविधान बनाउने समयमा जनताबाट लिएका सुझावको पोका कुनातिर मिल्काएर पश्चिमाको दवावमा धर्मनिरपेक्षता तथा संघीयता लादिएको अहिले आएर प्रष्ट भएको छ। नेपालमा नास्तिकताको प्रवर्द्धनकाे लागि अमेरिकी सरकारबाट रकम आएको अमेरिकी सांसदले नै एक अन्तरवार्तामा बताएपछि यसको खुलासा भएको हो।

बहुदलीय व्यवस्था आएपछि मौलाएका एनजीओ आइएनजीओको लहर खासगरी एमालेसँग जोडिन्छ। देशमा भएका यस्ता एनजीओहरुमध्ये सबैभन्दा धेरै एमालेनिकट र त्यसपछि काँग्रेस र माओवादी दलसंग निकट भएको तथ्यांकले नै देखाएको छ।

खासगरी अमेरिकी नीति अनुसार कसरी अविकसित देशका नेतालाई डलरमा लोभ्याएर उनीहरुको सनातनी धर्म नास्ने र आफूले चाहेको कार्य गराउने भनी आइएनजिओको नाममा युएसएडको नाममा डलरको चास्नीमा डुबाएको देखियो।

गरिब देशका लोभी नेताको दुरुपयोग गर्न विकसित देश अमेरिका तथा पश्चिमालाई कुनै कठिनाइ हुंदैन भन्ने यसले देखाएको छ। त्यस्तै गरेर भारत सरकारको खुफिया एजेन्सी “रअ” को पैसा खाएर भारतको हितमा काम गर्ने बुद्धिजीवी, नेता, कर्मचारी तथा पत्रकार हजारौं हुन सक्छन्।

अनि देशको हितमा बोल्ने राष्ट्रबादी तथा सनातन वैदिक धर्मको लागि बोल्ने केही बौद्धिक ब्यक्तित्व, नेता तथा सिमित पत्रकारको आवाज दवाउन त्यति धेरै कठिनाइ हुने भएन।

नेपाली कांग्रेस भारतमा स्थापना भएर त्यहीँका नेताबाट शिक्षादीक्षा पाएको पार्टी भएकाले यसले भारतको विरोध केही बोल्न सक्तैन। नेपाललाई जतिसुकै थिचोमिचो र अन्याय गरेपनि भारतको विरुद्ध चुँसम्म गर्न सक्तैनन् काँग्रेसका नेता र यस्का भातृ संगठनहरु।

माओवादीले भारतको विरुद्ध सुरुङ युद्ध गर्ने भनी विद्रोह सुरु गरेको भए पनि पछि गएर प्रमुख नेताहरु भारतमा बसेर तालिम लिएर त्यहीँका नेताको सल्लाह अनुसार नेपालका प्रहरी तथा सेनाका ब्यारेकमा हमला गर्न थालेका थिए। जसको परिणामस्वरुप माओवादी दल सरकारमा बसेर पनि नेपालको हितमा भन्दा भारतको हितमा बोल्ने र ब्यबहार गर्ने गरेको देखिन्छ।

झापा आन्दोलनबाट चम्केको एमाले सुरुमा जनहितमा कार्य गरी केही लोकप्रिय भएता पनि पछिल्लो अवस्थामा आइएनजिओको संगठनमा आबद्ध भएपछि पश्चिमाको इच्छाअनुसार सनातन वैदिक हिन्दू धर्मको बिरुद्धमा बिभिन्न कार्यगरी इसाइकरणमा मद्दत पुर्‍याएको देखियो।

त्यस्तै एमसीसी पास गर्न कांग्रेससाँग काँधमा काँध मिलाएर टिभीमा गएर एमसीसीको समर्थनमा बोलेको देखियो। अहिले अमेरिकन सहयोग बन्द हुँदा एमसीसी पनि बन्द भएको छ। एमसीसीमा लगानी भएको नेपाली जनताको पसिनाको रकम कोबाट असुल्ने होला नेताज्यू?

अमेरिकन नीति भनेको आफ्नो स्वार्थ भइन्जेल ब्यक्ति या देशलाई उपयोग गर्ने र आफ्नो स्वार्थ सकेपछि उखुको खोस्टा फालेजस्तै फाल्ने हो। त्यस्को धेरै उदाहरणहरु दिन सकिन्छ। इरानका राजा पहल्वीलाई पहिला समर्थन गरेर पछि उनकै बिरुद्धमा आन्दोलन हुँदा वास्तै गरिएन।

इरानको बिरुद्ध लडाइँ गर्न इराकका राष्ट्रपति सद्दाम हुसेनलाई समर्थन गरेर पछि उनै सद्दामलाई आंणबिक हतियार उत्पादन गरेको छ भनी झुटा आरोप लगाएर फाँसी दिइयो। अफगानिस्तानमा रहेका रसियन सेना बिरुद्ध अमेरिकी समर्थनमा उपयोग गरिएका बिन लादेनलाई पछि अमेरिकाले नै मार्‍यो। अमेरिकाको हितमा काम सकिएपछि उसले अहिले युक्रेनको राष्ट्रपति जेलेन्सकीलाई पनि दुत्कार्न थालिसकेको दखिन्छ।

यसमा बाहिरबाट अमेरिकाले रुस-युक्रेन युद्ध समाप्त पार्न चाहेको देखिएपनि वास्तवमा अमेरिकाले युक्रेनको खनिज पदार्थ कब्जा गर्न चाहेको देखिन्छ। त्यो नपाएपछि जेलेन्स्कीलाई बेइज्जतीपूर्बक ह्वाइट हाउसबाट निकालियो।

त्यस्तै अब नेपालमा दिएको सहयोगको नाममा आएको करोडौ डलरको सहयोगको बदलामा उसले नेपालमा धर्मनिरपेक्ष र संघीयता लादिसकेपछि उसको स्वार्थ सकिएको छ।

त्यसैले उसलाई अहिलेका ठूला दलका नेताको उपयोगिता सिद्धिसकेको छ। त्यसैले हाम्रो देशका भ्रष्ट र लालबुझक्कड नेताले नेपाललाई ग्रे लिस्टमा पुर्‍याएपछि उनीहरुलाई पनि कारबाहि गर्ने बाटो खोलेको हो कि भन्ने शंका लागेको छ।

त्यसैले अहिलेका ठूला दलका नेताले विदेशीलाई खुसी पारेर शासन सत्ता चलाउने दिन सकिएका छन्। अब यिनीहरुबाट नेपालको हित हुने गरि ठोस कार्य गर्न सक्ने क्षमता देखिँदैन।

उनीहरु अझैपनि सिर्फ आफ्नो गुट बलियो पार्ने र कसरी हुन्छ आफु शासन सत्तामा कायम रहने मात्र उद्देश्य लिएर अघि बढिरहेका देखिन्छन्। त्यसैले अब अहिलेका बृद्ध नेताबाट नेपाली जनताको हित हुने आशा गर्न सकिदैन।

अहिले ठूला दल काँग्रेस र एमाले मिलेपछि नेपाली जनताको हितमा केही गरिहाल्छन कि भन्ने झिनो आसा बनाइएको थियो। तर अहिलेसम्म संविधान संशोधन लगायत किसान, युवा, विद्यार्थीको हितमा ठोस कार्य गरेको देखिँदैन।

दैनिक २-३ हजार युवा एयरपोर्टबाट विदेशिँदा पनि त्यस्को कुनै मतलब नराख्ने सरकारबाट के आशा गर्न सकिन्छ ? देश युवा विहीन भइसक्यो। गाउँ रित्तिन लागिसक्यो। खेतबारी सबै बाँझा छन्। खाद्यान्नको लागि मात्र खरबौ रुपियाँ विदेशिन्छ। निर्यात गर्ने हाम्रो कृषि उत्पादन ज्यादै सीमित मात्रामा छ। त्यो पनि छिमेकी भारतले समयसमयमा भाँजो हालेर दुःख दिनेगर्छ।

उत्तरी असल तथा शक्तिशाली छिमेकी राष्ट्र चीनबाट हामीले आवश्यक सहयोग लिने प्रयास नै गरेको देखिँदैन। यो सिर्फ अमेरिका र भारतलाई खुसी पार्नको लागि मात्र हो। अझैपनि हाम्रा नेताको चेत खुलेन र देश हितमा अरुको मुख ताक्ने र आफ्नै जनताको क्रन्दन नसुन्ने हो भने देशमा आँधिबेहरी आउन सक्छ।

त्यसैले सत्ताधारीहरु अब सतर्क हुनैपर्छ र जनहितमा केही ठोस कार्य गरि अघि बढ्ने प्रयास होस। अन्यथा नेपाल बिरुद्ध ठूला शक्तिशाली राष्ट्र मात्र होइन नेपाली जनता पनि सत्ताधारीका बिरुद्ध अघि बढ्दै छन्। भ्रष्ट र देशद्रोहीहरुलाई हटाएर त्यसपछि आउने नयाँ सत्ताधारीको प्रमुख उदेश्य देशका प्रमुख भ्रष्टलाई खोरमा थुनेर उनीहरुको अबैध सम्पति जफत गर्नु नै हुनेछ।

अन्यथा देश ग्रे लिस्टबाट बाहिर आउन सक्तैन। नेपालले कुनैपनि बिदेशी राष्ट्रबाट सहयोग लगायत कुनैपनि सामान आयात गर्न पनि कठिनाइ पर्न सक्छ। त्यसैले ठुला दलका भ्रष्ट नेताहरु तथा बरिष्ठ कर्मचारीहरु होसियार।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *