मैतीदेवीको गोदा वेणुगोपाल मन्दिरमा विशेष धार्मिक अनुष्ठान

काठमाडौं। काठमाडौं महानगरपालिका-२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान्को नवनिर्मित मन्दिरमा आजदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ।
यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ। फागुन २१ गते साँझ सभा प्रार्थना, २२ गते ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, २३ गते शान्तिपाठ, तीर्थगोष्ठी, पूर्णाहूति, २४ गते अष्टाक्षरी वासुदेव-हवन, २५ गते तत्वन्यास हवनादिलगायत कार्यक्रम आयोजना गरिनेछ।
साथै फागुन २६ गते मासबलि, महापूर्णाहूति महासंप्रोक्षणलगायत कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी दिए।
अनुष्ठान तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ। कार्यक्रमअन्तर्गत साधारण अर्चनादेखि विशेष कर्ता बन्न मिल्ने सेवाक्रम तय गरिएको छ।
एक हजार १०० मा साधारण अर्चनादेखि सात लाखमा अर्चनासहित विशेष कर्ता बन्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताए। समारोहमा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागीलाई आमन्त्रण गरिएको जानकारी दिइएको छ।
विसं २०२२ मा बैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गरेको मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो। भूकम्पले क्षति भएको मन्दिर संघ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब १६ करोडको लागतमा मन्दिर पुनःनिर्माण गरिएको थियो। मन्दिर पुनःनिर्माणका लागि यस क्षेत्रबाट निर्वाचित उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि सहयोग गरेका थिए।
मन्दिरमा विसं २०२२ देखि वैष्णवीय दीक्षाका साथै वैदिक सनातन धर्मको प्रचारप्रसार हुँदै आएको छ। वैकुण्ठवासी रामशोभा रामानुजदासीले निःशुल्क प्रदान गरेकाे चार रोपनी चार आना क्षेत्रफलमा निर्माण भएको मन्दिरमा भगवान्, महालक्ष्मी र आलवार आचार्य गरी तीन सन्निधि रहेको छ।
मन्दिरमा आठ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छ। आगामी शैक्षिक सत्रदेखि गुरूकूल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराए।
दिव्यदेश शैलीमा निर्माण गरिएको मन्दिरमा तोताद्रिमठका ३१औं पीठाधिपति जगद्गुरू श्री १००८ मधुरकवि वानमामलै रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा यही फागुन २१ देखि २६ गतेसम्म प्राण–प्रतिष्ठा एवं महासंप्रोक्षण कार्यक्रम हुनेछ।
फागुन २१ गते साँझ सभाप्रार्थना, विष्वक्सेन आराधना, पुण्याहवाचन, रक्षाबन्धन, मृत्संग्रहण, अङ्कुरार्पणहवन, पूर्णाहूति, दिव्यप्रबन्ध सेवकालम र तीर्थगोष्ठी हुने छ।
२२ गते यागशालाामा द्वारतोरण ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण हवन, पूर्णाहूति, वास्तुपूजा, पञ्चगव्य-प्राशन, नवकलशस्नपन, जलाधिवास, मूलमूर्तिहवन, पूर्णाहूति र तीर्थप्रसाद वितरण हुनेछ।
फागुन २३ गते यागशालामा द्वारतोरण ध्वजकुम्भादि, महाकुम्भ उपकुम्भादि आराधना, शान्तिपाठ, तीर्थगोष्ठी, मूलमूर्ति हवन, पूर्णाहूति, सात्तुमुरै, तदीयाराधना, जलादुद्धरण, नवकलशस्नपन, धान्याधिवास र होमादि हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए।
यसैगरी फागुन २४ गते नित्य यागशाला आराधना, अष्टाक्षरी वासुवेव हवन, पूर्णाहुति र स्नपन, शय्याधिवास र फलपुष्पाधिवास हुनेछ। फागुन २५ गते नित्य यागशालामा हवन, छायाधिवास, २५ कलशस्नपन, तत्वन्यास हवनादि, यन्त्रस्थापन, विम्बप्रतिष्ठा, अष्टबन्धन, नित्यहोमादि, यन्त्रस्थापना, विम्बप्रतिष्ठा, नित्यहोमादि र तीर्थप्रसाद हुनेछ।
अन्तिम दिन फागुन २६ गते यागशालामा आराधना हवन, मासबलि, महापूर्णाहुति, नेत्रोन्मीलन, महासंप्रोक्षण, प्रथम आराधना, सात्तुमुरै, मठाधीश पट्टाभिषेक, आचार्य सम्भावना र तदीयाराधना रहेको जनाइएको छ।
Facebook Comment