नियात्रा : चन्द्रागिरि दर्शन

हामी परिवारका सदस्य जसमा मेरा श्रीमान विश्वनाथ तिमिल्सिना, छोरी प्रशंसा तिमिल्सिना र म लेखक स्वयम् भूमिका गैरे तिमिल्सिना भएर चन्द्रागिरि जाने निर्णय गर्याैं।
त्यसका लागि हामीले २०८० साल कार्तिक १० गतेलाई रोज्यौँ। त्यस दिन बिहान ४:०० बजे हाइसमा चढी करिब ७:०० बजे मुग्लिन पुगी खाजा खायौँ। हामी १०:०० थानकोट पुग्यौँ।
थानकोटबाट सिधैँ दक्षिणतर्फ रहेको चन्द्रागिरि पर्वत समुद्री सतहदेखि २५०० मिटरको उचाइमा अवस्थित रहेको छ। पर्यटकीय ,ऐतिहासिक , धार्मिक, सांस्कृतिक एवम् पुरातात्त्विक महत्त्व बोकेको उक्त स्थान अत्यन्तै रमणीय रहेको पायौँ । यो डाँडो काठमाण्डौं र मकवानपुरको संगम पर्ने रहेछ।
यस स्थानमा छिन्- छिनमा मौसम परिवर्तन भइ रहदो रहेछ। यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य राम्रो देखिने रहेछ। चन्द्रागिरिमा प्रसिद्ध भालेश्वर महादेवको मन्दिर अवस्थित रहेछ। त्यो धार्मिक स्थलबाट पूर्वमा काठमाडौं उपत्यकाको दृश्य देख्न सकिने र पश्चिममा मकवानपुरको चित्लाङ उपत्यका देख्न सकिने रहेछ।
उत्तरमा अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गणेश हिमाल , गौरीशंकर हिमाल , सगरमाथा हिमाल लगायतका अनेकौं हिमालहरु देख्न सकिन्छ। दक्षिणमा दामन एवम् महाभारत पर्वत देखिन्छ। धार्मिक , प्राकृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको मन्दिर पवित्र धार्मिक स्थलकासाथै आफैँमा भ्यू टावर हो, रहेछ। भालेश्वर डाँडालाई योग र साधना गर्न मिल्ने उपयुक्त ठाउँ पनि मानिने रहेछ।
भालेश्वर मन्दिर नजिकदेखि एक सय मिटरको लामो बाल खेल बगैंचा रहेको छ। चन्द्रागिरि डाँडा करिब ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको रहेछ। डाँडामा पुग्न केबलकारको व्यवस्था , एक डब्बामा ८ जना यात्रु अट्नुका साथै केबलकारमार्फत चन्द्रागिरि डाँडामा पुग्न चौध मिनट लाग्दो रहेछ।
नेपाल एकीकरण अभियानको प्रारम्भबिन्दु पनि यहीँ चन्द्रागिरि पर्वतबाट शुरु भएको भन्ने जनविश्वास रहेको पायौँ। शाह वंशीय राजा पृथ्वीनारायण शाह भालेश्वर महादेवको मन्दिरमा आउनु भएको थियो रे ? त्यस ठाउँबाट पूर्वतर्फ फर्केर काठमाण्डौंलाई राम्रोसँग नियाली सकेपछि गोर्खा राज्यमा गाभ्ने इच्छा गर्नु भएछ।
मन्दिरको पूर्वपट्टि नै पृथ्वीनारायणको सालिक पनि रहेछ। राज्य एकीकरणको तिव्र इच्छा पृथ्वीनारायण शाहले भालेश्वर महादेवसँग मागी उक्त इच्छा महादेवले पूरा गरेको जनविश्वास रहेको पायौँ। त्यसकारण भालेश्वर महादेवको मन्दिरलाई इच्छापुरेश्वर मन्दिरका नामले पनि जानिने रहेछ भन्ने कुरा मन्दिरका मूल पुजारी विदुर न्यौपानेबाट जानकारी पायौँ।
उहाँले गेरु रङको वस्त्र धारण गरी दर्शनार्थीका लागि मन्दिरभित्रैबाट टीका, फूल, प्रसादका साथै रुद्राक्ष पनि लगाइदिनु हुदो रहेछ।
चन्द्रागिरि डाँडा अत्यन्तै रमणीय स्थान , धार्मिक पवित्र स्थल, बाल फनपार्क , खेल बगैंचा आदिले पनि मनमोहक रहेको छ। त्यहाँबाट देखिने उपत्यका , हिमाल मकवानपुरको चित्लाङ, हेटौडा जाने पहाडि घुमाउँरो बाटोको दृश्यले पनि अझ बढी लोभ्याउदो रहेछ ।
हामी ३:०० बजे त्यहाँबाट फर्क्यौँ र खाना खायौँ। करिब ४:०० बजे हामी गाडी चढी बेलुका १०:०० बजे सकुशल घर आइपुग्यौँ।
चन्द्रागिरि गएपछि मानिसले छुट्टै , अलौकिक आनन्दको अनुभूति हुने रहेछ। सुन्दर , शान्त, पवित्र , प्रदुषणरहित, स्वच्छ वातावरण रहेको छ। यस्तो धार्मिक, प्राकृतिक एवम् ऐतिहासिक महत्व बोकेको ठाउँको संरक्षण र प्रवर्द्धन हुनु आवश्यक छ। स्वदेशी तथा विदेशी पर्यटनहरु भित्राई आर्थिक आय- आर्जनको गतिलो माध्यम बनाउँन सरोकारवाला ध्यान जानू आवश्यक छ।
गैंडाकोट-४, नवलपुर
Facebook Comment