अवैध अमेरिका उडान : चोक्टाको लोभ, झोलमा डुबान!

काठमाडौं। अमेरिका अर्थात् ‘सपना’को देश। सपना अवचेतन मनको स्वप्निल पिरामिड हो। त्यो चेतनशिल अवस्थामा पुग्दा धुमिल बन्दै जान्छ। र, अन्तत्वगत्वा भुलिइन्छ पनि। त्यसैले भनिएको होला सपनामा रमाउनु हुँदैन। सपनामा रमाउँदा दु:ख मात्र पाइन्छ।
यतिबेला त्यस्तै दु:ख विश्वका कैय्यन देशबाट अवैध रुपमा सपनाको देश अमेरिका पुगेकाहरूले पाइरहेका छन्। डोनाल्ड ट्रम्प २१ कात्तिकमा दोस्रो पटक अमेरिकाको राष्ट्रपति निर्वाचित भए। ७८ वर्षीय ट्रम्प कुल ५३८ सिटमा २७७ सिट प्राप्त गर्दै विजयी भए।
ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तनका थुप्रै संकेत देखिएका छन्। तीमध्येको एक हो आप्रवासन नीति। राष्ट्रपतिमा निर्वाचित भए लगत्तै ट्रम्पले आप्रवासन र सीमासम्बन्धी नीतिअन्तर्गत ‘अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन कार्यक्रम सुरु गर्ने’ वाचा गरेका थिए।
यतिबेला ट्रम्पले बाचा अनुरुपको कदम चालिसकेका छन्। उनले आफ्नो देशमा अवैधरुपमा रहेका आप्रवासीहरूलाई धमाधम स्वदेश फिर्ता पठाइरहेका छन्। ट्रम्प सरकारले कतिपय व्यक्तिालई चार्टर विमान त कतिपय व्यक्तिलाई नियमित उडानमार्फत स्वदेश फिर्ता पठाइरहेको छ।
अमेरिकाले हालसम्म पटक/पटक गरेर अवैध बसेका ३५ नेपालीलाई फर्ता पठाइसकेको छ। यसअघि २७ जनालाई विभिन्न उडानमार्फत नेपाल फिर्ता गरेको अमेरिकाले बुधबार मात्र ८ नेपालीलाई चार्टर विमानमार्फत नेपाल फिर्ता गरेको हो।
उनीहरूलाई बोकेर ग्रिफोन एयरको जहाज काठमाडौं आएको थियो। यसरी डिपोर्ट गरिएका नेपालीमध्ये केहीलाई अमेरिकाको अध्यागमन हेर्ने अदालतले अवैध रुपमा बसोवास गरेको ठहर गर्दै निष्काशनको फैसला सुनाएको थियो भने केहीलाई अवैध रुपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो।
यसअघि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले देशनिकाला गरिने विदेशीको सूची संख्या जारी गरेको थियो। जसमा साढे १३ सयभन्दा बढी नेपाली भएको बताइएको थियो।
चोक्टाको लोभ, झोलको डुबाइ
अवैध बाटो भएर अमेरिका पुग्नु कहाँ सहज छ र? नेपालबाट अमेरिका पुग्न चुनौतिका हजारौं जन्जिर पार गर्नुपर्छ। अमेरिका जान प्रयोग हुने अवैध मार्ग, दलालले लिने पैसा र बाटोमा मृत्युबाट जोगिन भोग्नुपर्ने कष्ट निकै दर्दनाक हुन्छ।
नदीनाला, जंगलमा लुक्दै महिनौं दिनको जोखिमपूर्ण यात्रा गरेर उनीहरू मेक्सिको लगायत विभिन्न अवैध बाटोबाट अमेरिका पुग्ने गर्छन्। त्यो क्रममा उनीहरूले बन्दुकधारी लुटेरा समूहको सामनासमेत गर्नुपर्ने हुन्छ।
घना जंगल, भिर, हिलैहिलो, चिस्यान नै चिस्यान छिचोल्नुपर्छ। पानामा जंगलको भिमकाय यात्रा त झनै दर्दनाक हुने कयौं दृष्टान्त बेलाबखत सार्वजनिक हुने गरेका छन्। कसैलाई कसैको माया हुँदैन। कोही हिँड्न नसेर बाटोमै छुट्दा जंगली जनावरको सिकार हुने पक्का जस्तै हुन्छ।
त्यसैले कति त अमेरिका पुग्नै सक्दैनन्। कतिले बाटोमै ज्यान गुमाउनुपर्छ। त्यसरी अमेरिका पुग्नेहरूको संख्या थोरै हुन्छ। अमेरिका पुग्नुको एउटै लक्ष्य हुन्छ- सुखपूर्ण जीवन र सन्ततिको स्वर्णीम भविष्य। तर, त्यस्तै मिठो सपना बोकेर अवैध बाटोबाट आफ्नो भूमि छोडेकाहरूलाई ट्रम नीतिपछि ऋण र दु:खको झोलमा डुबेर फर्किनु पर्ने बाध्यबारी अवस्था सिर्जना भइदिएको छ।
अमेरिका छिरेर पनि डिपोर्ट भएर फर्किएकाहरूको आगामी नेपाल यात्रा पक्कै सुखद हुने छैन। उनीहरूले अमेरिका पुग्न लिएको ऋण र गरेको लगानी निकै ठूलो छ। त्यो बेहोर्न उनीहरूलाई निकै हम्मेहम्मे पर्ने छ। यो उनीहरूका लागि फलामको च्युरा चपाउनु भन्दा कम हुने छैन।
तर, पनि मानिस जन्मभूमि, परिवार, साथी-संगती छोडेर सपनाको देश अमेरिका पुग्न लालायीत हुने गर्छन्। समृद्धि, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता कुराको ग्यारेन्टी नै अमेरिका सपनाको आकर्षण हो।
आफ्नै मुलुकमा यस्ता सुविधाको प्रत्याभूत भएको भए सायदै मानिस देश छोड्थे। तर, जे भए पनि अवैध यात्राको गन्तव्य सुखद हुँदैन। जीवनको कुनै न कुनै मोडमा दु:ख पाइन्छ नै। त्यसैले अवैध नभइ बैध बाटोको यात्रा गर्नु नै बुद्धिमता हुन्छ। अन्तत्वगत्वा चोक्टाको लोभमा झोलमा डुब्नु लज्जाको विषय बन्छ।
Facebook Comment