पाल्पाको ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा

डिसी नेपाल
२१ फागुन २०८१ १८:०६

तानसेन (पाल्पा)। लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेन नगरपालिका–५ स्थित कैलाशनगरमा ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ। प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि आजदेखि डबली सञ्चालनमा आएको हो।

उक्त डबली ‘ओपन थिएटर’ को अवधारणमा बनेको छ। जिल्लाका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले प्रदेश सरकारको रु छ करोड ८२ लाख ५६ हजार ९१ रूपैयाँ लगानीमा डबली निर्माण गरिएको हो।

आज एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख सन्तोषलाल श्रेष्ठले डबलीको शुभारम्भ गरे। ढिलै भए पनि डबली सञ्चालनमा आएकोमा खुसी लागेको कैलाशनगरका स्थानीयवासी रमेश अधिकारीले बताए। उाले भने, ‘आफ्नै टोलमा सांस्कृतिक डबली निर्माण हुँदा टोलको मात्र नभइ सिङ्गो तानसेन नै रमणीय र सुन्दर देखिएको छ।’ स्थानीय सुमन भट्टराईले पनि डबली सञ्चालनले पर्यटकको आगमनसमेत बढ्ने विश्वास व्यक्त गरे।

डबलीमा स्टेज, हरियो दुबोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रूम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङसहितको सुविधा रहेको छ। डबलीको क्षमता पाँच सय जना रहेको छ।

प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्राथमिकताका साथ अगाडि बढाएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। डबलीको उचित प्रयोग गरी यहाँका कला संस्कृति र पर्यटनको विकास गरिने उनको भनाइ छ।

उनले भने, ‘तानसेन आफैँमा पर्यटकीयस्थल रहेकाले त्यसको विकास र विस्तारका लागि डबली महत्वपूर्ण हुने छ।’ शुभारम्भको अवसरमा सोरठी, झ्याउरे, नेवारी नाँच, थिमेबाजा, जिवाइमाइवा जस्ता नाच प्रदर्शन गरिनुको साथै, मगरी, नेवारी खाजाका परिकारसमेत राखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *