कविता : चंचल मन

मन एक घोडा हो यो दौडिन्छ जहीँकहीँ
तृष्णा मनको प्यासी भट्किन्छ कहीँकहीँ
भन, म गीत के गाउँ यो तिम्रो तरंगमा
दुःखको गीत के गाउँ यो सुखी संसारमा
गाउँ म मनको गीत या आँसु पिइजाउँ
यो मेरो मनको ब्यथा कसलाई सुनाउँ
जति मनलाई बाँध्छु उति यो फुत्किजान्छ
भित्र मनमा रहेको पीडा ढुंगा भइ हाल्दछ
फोडुँ त कसरी फोडुँ यो मुटु भित्र भित्र छ
बिर्सुं कि बिर्सुं भन्दामा गलामा आइ बस्तछ
यो मनभित्र कता के छ त्यो म भन्न सक्तिन
आँखाभरीको त्यो आँसु सजिलै झार्न सक्तिन
जति म यो मनलाई पिँजडा भित्र राख्दछु
उति यो बाहिर आउन खोज्द छ
आँखामा आँसुका दाना असिना बनि झर्दछ
जमेको आँसुको दाना म फेरि उठाउँछु
मनका धेर ती आशा मनैभित्र लुकाउँछु
निन्द्रामा जब यो सुत्छ म रुन्छु रातमा पनि
लाग्छ कहिलेकाहीँ सूर्यनै न उदाओस् भनी
मुखको यो झुठो मुस्कान म कति सजाऊँ
यो रातको शून्यतामा म कति सम्झाऊँ
स्थिर मनको दियो म कैले देख्न पाउँछु
जीव र आत्मालाई म एक हेर्न पाउँछु
बाँचौं त यसरी बाचौं सबै संसार मेरो रहोस्
मरौं त यसरी मरौं यो जगतमा कोही नहोस्
इच्छा जीवनको उर्जा हो यो सबैले उभारुन्
नराखी आखीरमा इच्छा गोलोकमा सबै जाउन्
मनै हो मनको तृष्णा यो रोकिन्नन बाचुन्जेल
एकको पूर्तिमा अर्को आउनेछ जीवन रहुन्जेल
मनको दुःखमा आँसु आँखाबाट झर्दछ झर्झरी
मनको सन्तोषमा फेरि खस्तछ गुलाब जलसरी
मन मागको पात्र हो यो मागिरन्छ सधैं भरी
इच्छा पूर्ति न भएमा यो खुम्चिन्छ बेसरी
यो कस्तो पिँजडा हो जो भित्रको दुबलो चरा
खाई तृप्त नहुने कहल्यिै यो मागिरन्छ बिचरा
आशा उमंग थुप्रा छन् ती पूर्ति नहुने गरी
तैपनि यो बिचरो मन खोजी हिँड्छ घरिघरी
भो चाहिन्न यस्तो मन जो सदा अभावमा रहोस्
बनिन्न कहिले मालिक जो ईश्वरबाट पर रहोस्
बनिन्न कहिले मालिक जो ईश्वरबाट पर रहोस्।
Facebook Comment