समृद्ध साहित्यका ‘सुइना’ पूरा गर्न उद्दत साहित्य समाज
महायज्ञबाट सर्वोच्च पुरस्कार र सांस्कृतिक सङ्ग्राहलय निर्माण लक्ष्य

काठमाडौं। सुदूरपश्चिम भाषा, साहित्य, कला र संस्कृतिमा बैभवशाली भूमि हो। काली-कर्णाली क्षेत्र नेपाली भाषाको उद्गम थलो पनि हो। त्यही भूमिमा यतिबेला भाषा, साहित्य, कला र संस्कृतिको जगेर्नार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ जारी छ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा यही फागुन २१ देखि २७ गतेसम्म राधिका दासीबाट भागवत कथा वाचन भइरहेको छ। साहित्य समाजले देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि महायज्ञ आयोजना गरेको अध्यक्ष तीर्थराज पाण्डेयले बताए।
धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित साहित्य समाज सुदूरको साहित्यिक धरोहरका रुपमा स्थापित छ। हजारौं सुदूरपश्चिमबासीको सद्भाव र सहयोगले तीन तले साहित्यिक भवन निर्माण भएको दशक वितिसक्यो।
भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रमले यस क्षेत्रको गौरव गाथालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न सफल भएको छ। साहित्य समाजले यसको दायर थप फराकिलो पार्न महायज्ञको आयोजना गरिएको पाण्डेयले बताए।
‘हामी सदियौंदेखि राज्यको उपेक्षामा छौं। जनभावना अनुसारका थुप्रै काम राज्यले गरिदिएको छैन। तर, हामीहरू आफैँले समृद्ध सुदूर निर्माणका लागि के गर्यौं भन्ने प्रश्नबाट टाढा भाग्नु हुँदैन। हामी साहित्य साधक हौं। यहाँको साहित्यको श्रृवृद्धी हाम्रो प्रमुख उद्देश्य हुनुपर्छ। सबै क्षेत्रका मानिसले आ-आफ्नो क्षेत्रको उन्नयनमा काम गर्यौं भने समृद्धी धेरै टाढा छैन। हामीले साहित्य क्षेत्रको समृद्धीका लागि महायज्ञ आयोजना गरेका हौं,’ उनले भने।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महायज्ञ स्थलमा हजारौं श्रद्धालुले सहभागिता जनाइरहेको उनले बताएका छन्। ‘ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठसहित पवित्र तथा पावन भूमिका रुपमा रहेको सुदूरपश्चिममा धर्म, संस्कृति र अध्यात्ममार्फत नवीन सन्देश दिन आयोजित महायज्ञमा हामीले थुप्रै व्यक्तिको साथ र सद्भाव पाइरहेका छौं,’ पाण्डेयले भने। यसले लक्ष्य प्राप्तिमा सहजता हुने उनको विश्वास छ।
साहित्य अझै पनि अनुत्पादक क्षेत्र भनेर हेपिने गरेकोमा यस्ता खाले कार्यक्रमले नयाँ जागरण ल्याउने साहित्य समाजका निवर्तमान अध्यक्ष एवं मदन पुरस्कार विजेता लेखक रामलाल जोशी बताउँछन्।
साहित्य समाजको भवन निर्माणका लागि २०६० सालमा राष्ट्रकवि माधव घिमिरेले धनगढीमा शिलन्यास गरेका थिए। उक्त समयमा पद्यराज जोशी समाजको अध्यक्ष थिए।
शिलन्यासको लामो समयसम्म साहित्य समाजको भवन निर्माणले गति लिन सकेन। साहित्यिक गोष्ठी र समारोह गर्न पनि रुख वा दाताको आश्रय लिनुपर्ने अवस्था कायमै थियो। सामान्य आँट्ले द्वाता र चन्दाको भरमा भवन निर्माण सम्भव थिएन।
शिलान्यासको ६ वर्षसम्म गतिलिन नसकेको भवनले २०६६ साल पुस महिनामा जोशीको नेतृत्वमा नयाँ समिति पायो। उनी नेतृत्वको समितिले भवन निर्माण सुरु गर्यो। उनीहरूले ‘फलामको चिउरा सरी’ भवन निर्माण यात्रालाई अगाडि बढाए। समाजको भवन निर्माणका लागि घर-घर पुगेर चन्दा उठाए। र, मनकारी द्वाताहरूको सहयोगमा सपना झैँ लाग्ने ‘पहलमानसिंह स्वार स्मृति भवन’का रुपमा तीन तले भवन खडा भयो।
उक्त भवनको तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। सो अवसरमा तीन दिने साहित्यिक, सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो। साहित्य समाजको प्रांगणमा देशका मूर्धन्य साहित्यकारहरूको सालिक बाटिका निर्माण गर्ने परिकल्पना र उद्देश्यअनुरुप भानुभक्त आचार्य, पहलमानसिंह स्वाँर र जयपृथ्वीबहादुर सिंहको सालिक निर्माण गरिएको थियो।
त्यसपछि समाजको यात्रा त्यत्तिमै रोकिनेवाला थिएन। जोशी नेतृत्वकै कार्यसमितिले २०७४ चैतमा सुदूरपश्चिमको कला, साहित्य, संस्कृति र मौलिक पहिचानलाई प्रचार‑प्रसार गर्न ४७ जना साहित्यकार, कलाकार र संस्कृतिकर्मीको टोलीद्वारा सुदूरपश्चिमको महाकालीबाट पूर्वको मेची हुँदै भारतका सिलिगुढी, दार्जिलिङ, सिक्किम, असम र मेघालयसम्मको १७ दिने साहित्यिक सांस्कृतिक अभियानको गरेको थियो।
त्यसपछि २०७६ फागुनमा विश्वका विभिन्न देशमा बस्ने एक सयभन्दा बढी नेपाली भाषी विशिष्ट श्रष्टाहरूलाई एउटै मञ्चमा आमन्त्रण गरी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा धनगढीमा सप्ताहव्यापी ‘विश्व नेपाली साहित्य महोत्सव’ आयोजना गरिएको थियो।
त्यसपछि पाण्डे नेतृत्वको कार्यसमिति आयो। उक्त समितिले पनि २०७९ चैतमा ‘विश्व नेपाली नारी साहित्य महोत्सव’ आयोजना गर्यो। झमक घिमिरेसहित देश विदेशका पाँच दर्शन बढी नारी श्रष्टाले कार्यक्रममा सहभागिता जनाएका थिए।
यसका अलावा साहित्य समाजले अग्रज स्रष्टाहरूको सम्मान र नवोदित सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष २५ हजारदेखि १ लाख एघार हजारसम्मका १३ ओटा पुरस्कार प्रदान गर्दै आएको छ।
यसरी गतिशिल रहेको साहित्य समाजले यस पटक देशकै ठूलो धनराशीको पुरस्कार र सांस्कृतिक सङ्ग्रहालय निर्माणको पवित्र उदेश्य बोकेर महायज्ञ गरिरहेको हो। साहित्यको क्षेत्र फराकिलो तुल्याउन समाजका सबै व्यक्तिहरूको साथ, सहयोगको आग्रह अध्यक्ष पाण्डेयले गरेका छन्।
Facebook Comment