षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-अन्तिम भाग ३५ 

नेपालमा ७५ वर्षको प्रजातन्त्रिक अभ्यासका राम्रा तथा नराम्रा पक्ष

कपिल लोहनी
२४ फागुन २०८१ ७:२९

अमेरिकाका ३७ औँ राष्ट्रपति रिचर्ड निक्सनले आफ्नो कार्यकालमा केही महत्वपूर्ण काम गरेको तथा अति लोकप्रिय रहेको भएपनि उनले आफ्नो दोस्रो पदावधी नसकिँदै वाटरगेट काण्डमा उनको हात रहेको आरोप लागेपछि महाभियोग खेप्न नसकेर सन् १९७४ अगस्त ९ मा राजीनामा दिए।

उनको कार्यकालमा उनले गरेको सबैभन्दा महत्वपूर्ण काम सन् १९७२ मा उनले चीनको भ्रमण गरेर चीनसँग सम्बन्ध सुधार्न अहम् भूमिका खेलेको र सोही कारण आजसम्म पनि अमेरिका र चीनबीच राम्रो सम्बन्ध रहेको कुरा नै हो।

सन् १९८१ मा रिपब्लिकन उम्मेदवार रोनाल्ड रेगन अमेरिकाको ४० औँ राष्ट्रपतिमा निर्वाचित भएपछि निक्सनले आफू डेमोक्रेट भए पनि चीनको लागि अमेरिकी राजदूत बन्न निकै प्रयास गरेका थिए, तर उनको त्यो सपना साकार हुन सकेन।

वि.सं. २००८ साल मंसिर १ गते र २०१० साल आसाढ १० गते मातृकाप्रसाद कोइराला छोटो छोटो समयका लागि नेपालका प्रधानमन्त्री बने। यिनै मातृकालाई पछि प्रजातान्त्रिक सरकारलाई हटाएर सत्ता आफूले लिएपछि राजा महेन्द्रले अमेरिकाको निम्ति नेपाली राजदूतमा नियुक्त गरे।

प्रतिनिधिसभाकी पूर्व उपसभामुख चित्रलेखा यादव हाल अष्ट्रेलियाको लागि नेपाली राजदूतमा कार्यरत छिन्। यसरी राजदूत भन्ने पद एक अति नै गरिमामय पद हो। कुनै पनि पदमा पुगिसकेको व्यक्तिले पनि यो पदमा बसेर मुलुकको प्रतिनिधित्व गर्न सक्दछ।

तर नेपालमा हाल केहीलाई छोडेर अधिकांश राजदूतहरू दल तथा नेताका तल्लो स्तरका आसेपासे नै हुने गरेका छन्। यस्तो प्रवृत्तिले मुलुकको निकै बेइज्जती भइरहेको छ अन्तर्राष्ट्रिय जगतमा।

रुसमा जस्तो भ्लादिमिर पुटिन हिजो राष्ट्रपति हुने र फेरि आफ्ना परम मित्रलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बन्ने र फेरि आज राष्ट्रपति बन्ने जस्ता खेलाहरू विश्वमा विरलै देखिन्छन्। एक पटक राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले जीवनभर मुलुकको अभिभावकको रूपमा शालिन जीवनयापन गर्ने चलन विश्वभर नै छ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्नो अवकाशको जीवन शालिनतापूर्वक नै निर्वाह गरिरहेको भए पनि दुई पटक राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीलाई भने पुनः पार्टीको अध्यक्ष र मुलुकको प्रधानमन्त्री बन्ने भोक जागेको छ। उनको सपना जे भए पनि राष्ट्राध्यक्षको गरिमामा भने निकै आघात पुगेको छ।

चुनाव हारेर पनि प्रजातान्त्रिक नेपालका प्रथम सभामुख बन्न पुगेका कृष्णप्रसाद भट्टराई राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए पछि लामो जेल सजाय भोगेर पनि कालान्तरमा प्रजातान्त्रिक नेपालमा दुई पटक प्रधानमन्त्री बन्न पुगे र उनको प्रधानमन्त्रीत्वकाललाई नेपाली जनताले सम्झन लायकको ठानेका छन्।

प्रथम जनआन्दोलनपछिको संक्रमणकालबाट शान्तितिर उन्मुख हुन र २०४७ सालको संविधान निर्माणमा पनि उनको ठूलो भूमिका रहन गयो तर पनि आफ्नै सहयात्री गिरिजाप्रसाद कोइराला र आफ्नै दलभित्रबाट षड्यन्त्र भएपछि जनआन्दोलन पछिको पहिलो निर्वाचनमा उनले पराजय भोग्नु पर्‍यो।

एउटा सुराही, ट्याङ्का र छाता बोकेर बालुवाटार गएका उनी त्यति नै सामान लिएर फर्केका थिए। पछिल्लो समयका धेरै प्रधानमन्त्रीहरूले जस्तो विशाल महल बनाउने र अथाह धन सञ्चय गर्ने सोच उनले कहिल्यै राखेनन्।

उनको सरलता, इमान्दारीता तथा स्पष्टवादिता तथा कुशल नेतृत्वको कारण आज उनी यो दुनियामा नभए पनि उनलाई एक सन्त नेता तथा राजनेताको रूपमा नेपाली जनताले पुज्ने गर्दछन्।

२००७ सालदेखि आजसम्म राम्रा र नराम्रा जे जस्ता पक्षहरू बोकेका भए पनि प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, कीर्तिनिधि विष्ट, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीले राजनेताको रूपमा इतिहासमा नाम लेखाउन सफल भएका छन्।

मदन भण्डारी र गणेशमान सिंह पनि सच्चा अर्थमा राजनेता नै थिए। मदन भण्डारीले बदलिँदो परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उँचाईमा पुर्‍याउन खेलेको भूमिका र लौहपुरुष गणेशमान सिंहले आफूले पाइसकेको प्रधानमन्त्रीको पद अस्वीकार गरेर अरुको नाम सिफारिस गर्नु राजनेतामा हुने विशाल गुण बोक्नु नै हो।

मदन भण्डारी बाँचिरहेका भए उनी एक असल राजनेता र प्रधानमन्त्री बन्ने थिए र उनको नेतृत्वमा आजका कम्युनिष्टहरू मध्ये निकै जल्दा बल्दा बन्न पुगेकाहरूको कद पनि सानो देखिने थियो होला र ओझेलमा परेका इमान्दार र त्यागी कम्युनिष्ट र समाजवादीले उचित मानसम्मान र जिम्मेवारी पाउने थिए होलान्।

प्रजातान्त्रिक नेपालका विभिन्न कालखण्डका संसदका सभामुखहरूमा एकाध व्यक्तिले निकै ठूलो योगदान पुर्‍याउनुका साथै विशाल ख्याती प्राप्त गर्न सफल भएका छन्। यस्ता व्यक्तिको नाम लिन पर्दा दमननाथ ढुंगाना र सुभाषचन्द्र नेम्वाङको नाम अग्रपंक्तिमा आउँछ।

यी दुवै सभामुखहरूले आफ्नो दल र नेताभन्दा पनि माथि उठेर मुलुकको स्वार्थ र प्रजातन्त्रको सम्वर्धनमा काम गरे। तर दमन ढुंगानाको निश्पक्ष कार्यशैलीदेखि उनको आफ्नै दल चिढिएको थियो र पछिल्लो चुनावमा आफ्नै दलको अकर्मण्यताले गर्दा उनले चुनावमा पराजित हुनुपर्‍यो। उनको भूमिका दोस्रो जनआन्दोलन पछिको शान्ति प्रकृयामा पनि उत्तिकै महत्वपूर्ण रह्यो।

त्यस्तै पटक पटक लामो समयसम्म सभामुख भएर पछिल्लो संविधान निर्माणमा समेत अहम् भूमिका खेलेका सुभाष नेम्वाङलाई राष्ट्रपति हुने अवसर प्राप्त हुन सकेन। अर्का नाम छुटाउन नहुने व्यक्तिमा वि.सं. २०२० सालताका पञ्चायतकालका राष्ट्रिय पञ्चायतका पाँचौँ अध्यक्ष (सभामुख) रहेका राजेश्वर देवकोटा पनि पर्दछन्।

उनी एक इमान्दार, मेहनती र खरा नेता थिए। लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंहले राजदरवारको आज्ञा सिरोपर गर्ने भएकाले प्रधानमन्त्री बन्ने अवसर पाए भने देवकोटा खरा व्यक्ति भएकै कारण कहीँ सबै खालको राजाज्ञाको पालना गर्न नमान्लान् कि भन्ने भयले गर्दा प्रधानमन्त्री बन्ने अवसरबाट वञ्चित बनाइए।

न्याय क्षेत्रमा शुरुका समयमा निकै कुशल व्यक्तित्वहरूले नेतृत्व प्रदान गरेकाले न्याय क्षेत्र निकै समयसम्म प्रतिष्ठित रहिरहन सक्यो। तर पछिल्लो एकाध दशकदेखि सो क्षेत्रमा कुनै निश्पक्ष व्यक्ति देखा पर्‍यो भने उसलाई हटाउन हरसम्भव प्रयत्न गर्ने र आफ्नो पक्षमा अन्धभक्तिका साथ उभियो भने उसलाई बचाउन पनि त्यत्तिकै प्रयास गर्ने प्रवृत्ति हावी हुन थाल्यो।

सकेसम्म न्याय क्षेत्र तथा अख्तियार दुरुपयोगको अनुगमन गर्ने निकायहरूमा आफ्नो दलको समर्थक हुल्ने होड नै चलेको छ। तर पनि नेपालको न्यायिक क्षेत्रमा निकै ठूला हस्तीहरू प्रधानन्यायधीश तथा न्यायधीशको ओहदामा पुगेर राम्रो काम गरेको तथा ऐतिहासिक पैmसलाहरू गरेको नजिर पनि नभएको भने होइन।

नेपालको प्रशासनिक इतिहासमा २००७ साल पछिको शैशवकालबाट प्रशासनतन्त्रको जग बस्दै निकै बलियो भएको र पहिलो पटक गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री हुँदा यसमा ठूलो प्रहार भएर प्रशासनतन्त्र तहसनहसको स्थितिमा पुगेको र यही बेलादेखि प्रशासनमा राजनीतिक दलका आसेपासेको प्रवेशले प्रधानता पाउन थालेको हो। पञ्चायती व्यवस्था छँदा पनि हुकुम प्रमाङ्गी मार्फत आफन्तलाई प्रशासनका उच्च तहमा फास्टट्र्याममा पु¥याउने काम नभएको होइन। तर पनि त्यतिबेला योग्यतालाई प्राथमिकता भने दिइन्थ्यो।

नेपालकी प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानीबाट शुरु भएर आज आइपुग्दा महिलाहरू मुलुकको सबै क्षेत्रको नेतृत्व तहसम्म पुग्न सफल भइसकेका छन्।

घरगृहस्थीमा सिमित नरहेर आज नेपालका महिलाहरू प्रधानन्यायधीश र न्यायधीशदेखि राष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, मेयर, उपमेयर, मुख्य सचिव, सचिव, प्रमुख जिल्ला अधिकारी, राजदूत, शान्तिसैनिक, उच्च प्रहरी अधिकृत तथा मानव अधिकारकर्मी, उद्यमी, व्यवसायी, अधिवक्ता, सञ्चारकर्मी, चिकित्सक, इन्जिनियर, विमान चालक, गीत-संगीतज्ञ आदि जस्ता यावत महत्वपूर्ण ओहदा सम्हाल्न सक्ने भइसकेका छन्।

तर पनि मुलुकका अधिकांश महत्वपुर्ण पदमा हिजोआज विभिन्न राजनैतिक दलका आसेपासेहरूको नै हालीमुहाली बढ्दै गएको छ। यसो हुँदा नयाँ पिँढी मात्र होइन, अति अनुभवी तथा अभैm धेरै वर्ष मुलुकको सेवा गर्न सक्ने अघिल्ला पिँढीलाई पनि वेरोजगार बन्न वाध्य बनाइएको छ भने सार्वजनिक सेवाको स्तर खस्कन पुगेको छ।

नेपालमा विभिन्न क्षेत्रका हस्तीहरू नजन्मेका पनि होइनन्। सरकारी प्रोत्साहन विना पनि डा. सन्दुक रुइत र महावीर पुन जस्ता आफ्नो क्षेत्रका सयौँ विश्वस्तरका विज्ञहरू आफ्नै बलबुता तथा लगतशीलताले मुलुकको सेवामा लागिरहेका छन्।

जलश्रोत विकासमा निकै काम गरेका कुलमान घिसिङजस्ता विज्ञलाई कसरी पदबाट मुक्त गरेर आफूले भनेजस्तो हालीमुहाली गर्न पाइयोस् भनेर केही अधिकारी मरिमेटेर लागेका छन्। मुलुकमा जलश्रोतको यत्रो विकास भएर पनि सरकारले मुलुकभित्रै विद्युतको उपभोग बढाउने कुनै योजना बनाएको देखिँदैन भने अझै पेट्रोलियम पदार्थ र यसबाट चल्ने सवारी साधन तथा अन्य उपकरणको आयातमा जोड दिइरहेको छ।

जनसंख्या वृद्धिदर अति उच्च रहेको पुरानो जमानामा परिवारको संख्या ठूलो हुने गरेकोले पनि जनता निकै गरिव हुने गर्दथे। त्यस माथि बाल र मातृ मृत्युदर निकै उच्च थियो। शिक्षाको पहुँच आम जनतामा थिएन। आधुनिक यातायातको साधन नहुनाले राजधानीबाट केही दूरीका स्थान पनि विकट मानिन्थे।

स्वास्थ्य सेवा नगण्य थियो भने सानातिना महामारीबाट समेत बच्न हम्मे पर्दथ्यो। घरायसी इन्धन र खानाको जोहो गर्न वन विनाश नै गर्नु पर्ने अवस्था थियो भने कृषिको अवस्था नाजुक थियो।

राणाशासनको अन्तको समयमा नेपाल विश्वभरमा नै एक अति आदिम तथा विपन्न मुलुक थियो। विगत ७० वर्षको विकासक्रमले गर्दा आज नेपाल निकै अघि बढिसकेको छ। आधुनिकताका साथै नेपालमा शहरीकरण पनि बढ्दै गएको छ।

आमसञ्चारको विकासको कारण अन्य विकसित मुलुकमा जस्तै नेपालीहरूलाई चौतर्फी ज्ञान प्राप्त गर्न निकै सहज भयो भने मोवाइल फोन तथा सञ्चार सामग्रीले गर्दा विश्व नै सानो हुँदै गयो। यतिमात्र नभइ नेपालमा बैकिङ सेवामा पनि सुधार हुँदै गएको तथा यसमा विद्युतीय सञ्चार सामग्रीको उपयोग बढेकोले डिजिटल बैङ्किङले आर्थिक कारोवारमा झनै फड्को मार्न पायो।

तर बजार व्यवस्थापन, रोजगारीको अवसर, कृषि तथा साना उद्यममा उचित विकास हुन सके पो आम जनताले यस्ता आधुनिक आर्थिक कारोवारका साधनहरूको अझ बढी उपभोग गर्न पाउने थिए।

विदेशबाट विप्रेषणको रूपमा भित्रिने रकम प्राप्त गर्न भने ग्रामिणदेखि शहरी क्षेत्रसम्मका जनतालाई सहज हुँदै गएको छ। यस्तो आम्दानीलाई सही ठाउँमा लगानी गर्न हौस्याउन भने सरकारले वित्तिय साक्षरताका कार्यक्रमहरूलाई व्यापकता प्रदान गर्न सक्नु पर्दछ।

विभिन्न दातृसंस्था, मित्र राष्ट्र तथा दुई विशाल छिमेकी राष्ट्रको मद्दतले गर्दा नेपाल आजको स्थितिमा पुगेको छ। तर हामी आपैmले भने गर्नु पर्ने जति काम गर्न सकेका छैनौँ। अझ पनि विदेशको मुख ताक्नु, अनुदानको आशा राख्नु वा ऋणमा डुब्दै जानु र मुलुकको भन्दा पनि व्यक्तिगत ढुकुटी भर्ने खेलामा रुमल्लिनु एक अति नै ठूलो विडम्बना हुन पुगेको छ।

जनतामा जो नेतृत्वमा आए पनि गरिवको निम्ति कोही छैन रहेछ भन्ने खालको विरक्ती छाउन थालेको छ। यस्तै अवस्थाले गर्दा नै मानिसमा मातृभूमिको समेत माया मारेर वाध्यतावश सुखद भविश्यको आशामा विदेशिने प्रवृत्ति बढ्दै गएको छ।

राणाशासनको बेलामा शिक्षाबाट कुण्ठित पारिएका जनताले प्रजातन्त्र पश्चात् पढ्ने र लेख्ने सुविधा पाए भने आज आएर मुलुकभित्रै उच्च शिक्षाको लागि हजारौँ विद्यालय, कलेज र दर्जनौँ विश्वविद्यालय तथा चिकित्सा शास्त्र, इन्जिनियरिङ लगायत यावत संकायको अध्यापन हुन थालेको छ।

शिक्षा र स्वास्थ्यको पहुँच विपन्न जनतासम्म पुग्न थालेको छ। तर पनि सरकारी शिक्षण र स्वास्थ्य संस्थाहरूमा राजनीति घुसेर तहस नहस भएको छ भने नीजि संस्थाले राम्रो प्रगति गरेका छन्।

त्रिभुवन विश्वविद्यालय, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामपुर कृषि क्याम्पस, नास्ट, सेडा, प्रज्ञा प्रतिष्ठान, स्वीस सरकारको सहयोगका प्राविधिक शिक्षण प्रतिष्ठानहरू तथा वीर, शिक्षण, प्रशुती जस्ता पुराना अस्पतालहरू र नेपाल वायुसेवा निगम, आयल निगम, खाद्य संस्थान आदि जनतासँग सिधा सरोकार हुने सेवाग्राही संस्था तथा तिनका जग्गाजमीनहरू राजनीति र भ्रष्टाचारको शिकार भएर तहस नहस हुनुका साथै सम्पत्ति हिनामिना भएका छन् भने दक्षिण एशियाकै पुरानो तथा पहिलो मध्येको रोपवे, रेल, ट्रलिबस, सुरुङ मार्ग, जलविद्युत गृह आदिको सम्वर्धन गर्न पनि कुनै पनि सरकारले चाहेन र धराशायी हुनबाट रोक्न सकेन।

खासगरी गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा नीजिकरणको नाममा नाफामुलक सार्वजनिक उद्योग, व्यवसाय र संस्थाहरू बेच्ने र भताभुङ्ग पार्ने काम भएर अर्बौंको सार्वजनिक सम्पत्तिको हिनामिनाका साथै हजारौँलाई बेरोजगार बनाइएकोमा हाल आएर फेरि त्यही कार्यलाई निरन्तरता दिने कुराको निर्णय गर्दै बचेखुचेका सार्वजनिक संस्थानहरू पनि बेच्ने र सम्पत्ति हिनामिना गर्ने कुरा बजारमा चलिरहेको छ।

तर साँच्चैको अति नै अव्यवस्थित हुनुका साथै नोक्सानी ब्यहोरी रहेको नेपाल वायुसेवा निगम जस्ता भ्रष्टाचारका अड्डाहरूलाई भने जति नोक्सानी र बेइज्जती सहेर पनि निरन्तरता दिन सबै सरकारहरू तत्पर देखिन्छन्, किनकी त्यहाँ पनि निहित स्वार्थ लुकेर बसेको छ।

२००७ साल अघिको अँध्यारो युगबाट आजसम्मको यात्रामा नेपालले पर्यटन, प्रकृति तथा वन्यजन्तु संरक्षण, वन तथा पर्यावरण जस्ता क्षेत्रमा पनि ठूलो फड्को मारेको छ। तर पनि पछिल्लो समयमा सरकारी तहमा निकै कम काम भएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण गर्ने तर तिनलाई सञ्चालन गर्न नसक्ने, सरकारी विमान सेवालाई विस्तार र व्यवस्थापन गर्न नसक्ने, विभिन्न महत्वपुर्ण राजमार्गहरूको निर्माण र विस्तारमा चरम लापर्वाही हुने गरेको कारण आमजनता र विदेशी पर्यटकले ठूलो दुख झेल्न वाध्य हुनु परिरहेको छ।

वातावरणीय प्रभाव अध्ययन विना वा नक्कली अध्ययन प्रतिवेदनको आधारमा निर्माण थाल्नाले र हचुवामा वनजंगल फँडानी गर्नाले बाढी, पहिरो र अन्य विपत्को जोखिम बढ्दै गएको छ। यो सबमा पनि भ्रष्टाचार र भागवण्डा नै महामारीको रूपमा पसेको छ।

२०७२ सालमा संविधान निर्माण गर्दा सबै पक्षको हित हुने संविधान बनाउन खोज्दा पनि मधेसका समस्याहरू छुट्न गए। त्यस्तै राजसंस्थाले पछिल्लो समयमा केही गल्ती गरे पनि यो संस्था प्रति रहेको जनविश्वासलाई लत्याएर हठातै गणतन्त्रको घोषणा गरियो तथा नेपाललाई हिन्दू अधिराज्यबाट धर्मनिरपेक्ष गणतान्त्रिक मुलुक बनाइयो।

यस्ता कार्यहरूले गर्दा समाजको निकै ठूलो हिस्सा ओगट्ने जनसमूदाय भित्र भित्र रुष्ट हुन पुग्यो। त्यस माथि जनताको अपेक्षाको ठीक विपरित त्यति ठूलो त्याग, बलिदान र क्रान्तिबाट आएका अधिकांश नेताहरू व्यक्तिगत सुखसयल, भ्रष्टाचार, नातावाद, कृपावाद, अराजकता र राष्ट्रघाती कृयाकलापमा चुर्लुम्मै डुब्न थाले।

तीन ठूला दलको अधिनायकवाद हावी हुने गरेको तथा उनीहरू बाहिर झगडा गरेको जस्तो गरे पनि उनको घाँटी एकअर्कोमा जोडिएको छ र जनता भने झन् झन् दुखी र गरीब भएका छन्, विस्थापित भएका छन्, विदेशिन वाध्य भएका छन्।

यस्तो परिस्थितिलाई समयमा नै सुधार्न नसकेमा नेपालमा अर्को झनै खतरनाक र रक्तपातपूर्ण जनक्रान्ति निम्तिन सक्दैन भन्ने कुराको ग्यारेन्टी कसैले पनि गर्न सक्दैन। त्यसैले समयमै सजग भएर सच्चिएर समृद्ध नेपालको निर्माणको निम्ति उचित पाइला चाल्नु नै आजको आवश्यकता भएको छ।

– लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *