नर्थ क्यारोलिनाको रालेमा समावेशी ल्होसार

नर्थ केरोलाइना-अमेरिका। हिमाली समुदायका विभिन्न जातजाति र समूहले आयोजना गर्ने फरक फरक सोनाम ल्होसार, ग्याल्बो ल्होसार, तमु लोसार जस्ता पर्वलाई एकत्रित गरि सँयुक्त रुपमा ल्होसार मनाउन लागिएको छ।
हिमालय कम्युनिटी नर्थ केरोलाइनाले आयोजना गर्न लागेको ल्होसार कार्यक्रममा नर्थ केरोलाइनाको राजधानी राले र यसका आसपासरमा रहेका बौद्धमार्गी तथा अन्य नेपाली समुदायको वृहत सहभागीता रहने आयोजकले जनाएको छ । कार्यक्रम आयोजक समितिका सदस्य ङिमा पाख्रिन भन्छन्, ‘नर्थ क्यालोरिनामा नेपालीहरु आउनेक्रम ह्वात्तै बढेसगै कार्यक्रमको सहभागिको संख्या बढ्दो देखिन्छ।’
ग्याल्पो ल्होसार फेबु्रअरी २८ मा रहेको थियो, यो १५ दिन सम्म मनाइन्छ । राले क्षेत्रमा रहेका बौद्धमार्गी नेपालीहरु मार्च १ तारिखमा नर्थ केरोलाइनाको केरीमा भेला भएर विश्वशान्तिको कामना सहित पुजा गरेका थिए ।
मार्च १५ तारिखमा सबै समुदाय भेला भएर भव्य रुपमा कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका आङ छिरीङ शेर्पाले बताए । उनका अनुसार ल्होसार मार्च १५ तारीखमा राले नजिकैको केरी शहरमा रहेको नेपाली रेष्टुरेन्ट हिमालयन ग्रील एन्ड बारमा हुने तय भएको छ ।
ल्होसार कुनै जात जातिमा मात्र सिमित नराखी सबैको उपस्थिति रहोस भन्ने उद्देश्यले खुल्ला गरिएको आयोजकले जनाएको छ । विगतका ३-४ बर्ष देखि रालेमा ल्होसार कार्यक्रम गर्दै आएका आयोजक कर्मा शेर्पा गोले ल्होसार साँझमा विभिन्न जाती विशेष नाच र साँस्कृतिक कार्यक्रमका साथै विविधतापूर्ण नेपाली सँस्कृति झल्किने कार्यक्रमहरु समेटिने छन । झण्डै २५० हाराहारीको कार्यक्रममा सहभागीता रहने आयोजकको अनुमान छ ।
‘सबै भाषा, धर्म र सँस्कारको सम्मान गर्ने र चाडबाड साझा रुपमा मनाउने नेपालीको बिशेषता हो’ आयोजक समितीका सदस्य रियलस्टेट ब्यबसायी जीतमान बस्नेत भन्छन् ‘त्यही भएर हामीले यसलाई समावेशी ल्होसार बनाएको हौ ।’ यो कार्यक्रमपछि रालेमै ल्होसार कप फुटवल पनि हुँदैछ । फ्युके नेपाली सकर क्लवले मार्च २३ र ३० मा सो कार्यक्रम गर्न लागेको हो ।
पछिल्ला वर्षहरुमा नर्थ क्यारोलाइना राजधानी राले आसपासका केरी, मोरिसभिल, एपेक्स, होलि स्प्रिङ, फ्युके भरिना, गार्नर, वेक फरेस्ट, डुरम, जेवुलन, वेन्डल, नाइट्डेल, न्यु हिल, एन्जिअर, स्यानफोर्ड, न्युहिल, क्लेटन, जेवुलीयन लगायतमा नेपालीको बस्ती बढ्दो छ ।
Facebook Comment