पुनर्निर्माण र पुनर्स्थापनाको काम सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री लेखक

अछाम । पुनर्निर्माण र पुनस्र्थापनाको कामलाई अहिले सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।
शनिबार एक कार्यक्रमबीच अछाम, बाजुरा र डोटी जिल्लाका भूकम्प पीडितलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति अछामको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पिय पुर्ननिर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्दै मन्त्री लेखकले पश्चिम नेपालको डोटी बझाङ र जाजरकोट जिल्लामा गएको भूकम्पले जनधनसँगै मुलुकले ठूलो नोक्सानी बेहोर्नुपरेको बताएका हुन्।
लामो समयसम्म भूकम्प पीडितले राहत नपाएको समयमा पूर्णरूपमा क्षति भएका निजी आवासको पुनर्निर्माण , पुनस्र्थापना र आवास मर्मतको कार्यलाई द्रूर्त गतिमा अगाडि बढाउने काम भइरहेको बताए।
लाभग्राहीलाई ढिलो नगरेर रकम उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। बजेट व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री लेखकले स्थानीय तहले समयमा लाभग्राही छनौट गरेर पठाएमा पीडितले समयमै रकम पाउने बताए।
भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनःनिर्माणअन्तर्गत पहिलो किस्ता प्रतिब्यक्ति ५० हजारका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह, विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भीष्म कुमार भुसाल, प्रदेश सभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थित रहेको थियो।
Facebook Comment