राजावादीको हुरीले माओवादीको अभियान उडाइदिएको हो ?

डिसी नेपाल
२५ फागुन २०८१ १४:१६

काठमाडौं। तत्काल सत्तामा फर्किने संभावना नदेखिएपछि फागुन १२ देखि झापाको कचनकवलबाट सुरु भएको माओवादी केन्द्रको ‘तराई-मधेस जगरण अभियान’ शनिबारदेखि स्थगित भएको छ।

पार्टीले भने यो अभियान स्थगित हुनुको स्पष्ट कारण बताएको छैन । तर, यो अभियान बीचमै तुहिनुको पछाडिको चुरो कारण राजावादीहरुको कार्यक्रम भएको आशंका गरिएको छ ।

जनता केन्द्रित अभियान भन्दै माओवादीले सुरु गरेको अभियान रौतहट आइपुग्दा स्थगित भएको हो। सुरुमा राम्रै उपस्थिति देखिएको जागरण अभियान मध्य तराइका जिल्लामा आइपुग्दा शिथिल भइसकेको थियो। पूर्वप्रधानमन्त्रीको रुपमा प्रचण्डका सुरक्षाकर्मीको संख्या धेरै हुने तर सहभागीको संख्या घट्न थालेपछि माओवादी दबावमा परेको थियो।

अन्ततः कार्यक्रम सुरु भएको दुई हप्ता पूरा नहुँदै र देशको तराइ क्षेत्रका एक चौथाइ भूभाग समेटिन नपाउँदै पूरै अभियान बीचमै तुहियो । कार्यक्रमलाई बीचमै अलपत्र छाडेर अध्यक्ष प्रचण्ड राजधानी फर्किए । राजधानी आएलगत्तै अध्यक्ष प्रचण्ड राजावादीलाई काउन्टर दिने प्रयासको रुपमा कट्टर गणतन्त्रवादीहरुसँग छलफलमा जुटेका छन्।

गणतन्त्र ल्याउने प्रमुख पात्र प्रचण्डले नेतृत्वको गरेको पार्टीले सुरु गरेको अभियानमा जनसहभागिता कम हुनु माओवादीका लागि चुनौतीको विषय बनिरहेको थियो। त्यही बीचमा पूर्वराजा पोखराबाट काठमाडौं फर्किने क्रममा उनलाई विमानस्थलमा भव्य स्वागत गरेर राजधानीका सडकमा हजारौं जनताको जुलुस उतार्ने राजावादीको कार्यक्रमले माओवादीको अभियानलाई दोहोरो झट्का दियो।

माओवादीको अभियानमा जनसहभागिता घट्दै गएको थियो। त्यही बीचमा राजावादीको पक्षमा माहोल देखियो। यसले जनतामा माओवादीको तुलनामा राजावादीको लोकप्रियता बढेको देखाउन सक्थ्यो र यो राजनैतिक हिसाबले माओवादीको भविष्यका लागि समेत अप्रिय संकेत थियो। अर्कोतर्फ आफ्नै सक्रियतामा ल्याइएको गणतन्त्र २ दशक नबित्दै हदैसम्म अलोकप्रिय भएको सन्देश जनतामा जानु प्रचण्ड स्वयंका लागि पनि शुभसंकेत थिएन।

माओवादीको अभियानमा जनसमर्थन घट्दै गर्दा पूर्वराजाप्रतिको जनसर्मन बढ्नु माओवादीका लागि टाउको दुखाइको विषय बन्यो। यता राजावादीको कार्यक्रम चल्दै गर्दा उता माओवादीले पनि कार्यक्रम गरेको भए दुवैको लोकप्रियता कत्तिको छ भनेर जनताले कार्यक्रममा उपस्थित जनताको टाउको गनेरै थाहा पाउने थिए । अर्कोतर्फ आफ्नै भविष्यको रक्षाको लागि पनि गणतन्त्रको पक्षमा माहोल बनाइराख्नुपर्ने प्रचण्डमाथि दबाब थियो, जुन राजधानी नफर्किइ सम्भव थिएन ।

यतिबेला मुलुकमा राजाको पक्षमा जबर्जस्त माहोल देखिएको छ। राजाको पक्षमा माहोल देखिएपछि माओवादीले राजावादीहरु सक्रिय भएको भन्दै ‘तराई–मधेस जगरण अभियान’ स्थगित गरेको छ। अब उसले आफूलाई संसदमा केन्द्रित गर्ने जनाएको छ।

माओवादीले सरकारको नेतृत्व गरेका केपी ओली अलोकप्रिय बन्दा राजावादीहरु सक्रिय भएको निष्कर्षसमेत निकालेको छ। तर के प्रधानमन्त्री ओली अलोकप्रिय भएकै कारण राजावादीहरु सक्रिय भएका हुन्? अथवा राजावादीहरु सक्रिय हुँदा माओवादीले आफ्नो अभियान नै स्थगित गर्नु पर्ने अवस्था आएको हो ? पोखरामा रहेका पूर्वराजा काठमाडौंमा आउँदा गणतन्त्रवादी यत्ति धेरै आत्तिनु पर्ने अवस्थाको सृजना भएको हो ?

यसअघि एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका कांग्रेस-एमाले र माओवादीहरु यतिबेला गणतन्त्रको रक्षा गर्ने भन्दै एक ठाउँमा उभिएका छन्। पूर्व राजाको स्वागतमा भन्दै राजावादीहरुले आज काठमाडौंमा प्रदर्शन गर्दैछन्। जसलाई रोक्न सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *