कुलमानको जवाफ: ऊर्जामन्त्रीले प्रतिशोध साँध्दा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्यो (पूर्णपाठ)

डिसी नेपाल
२५ फागुन २०८१ १८:३४

काठमाडौं। सरकारले सोधेको स्पष्टीकरणमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जवाफ पेश गरेका छन्।

आइतबार घिसिङले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका हुन्। उनले जवाफमा आफूलाई उर्जामन्त्री दीपक खड्काले प्रतिशोध साँध्दै स्पष्टीकरण सोध्ने निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जिकिर गरेका छन्।

स्पष्टीकरणमा उनले भारतसँग विद्युत् खरिदबिक्री सम्झौताको ऊर्जामन्त्री दीपक खड्का र ऊर्जा सचिव सुरेश आचार्यसँग पहिले नै अनुमति लिएको दाबी गरेका छन्।

यस्तै, डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन लाइन काट्दा ऊर्जा मन्त्रालय र विद्युत् नियमन आयोगले जोड्न निर्देशन दिने कार्यले बक्यौता नउठ्दा आफूलाई किन महसुल नउठाएको भन्दै स्पष्टीकरण विरोधाभाषपूर्ण रहेको उनको भनाइ छ।

उनले राष्‍ट्र सेवक (कर्मचारी) उपर गरिने विभागीय प्रकृतिको कारवाही गर्न सक्ने अधिकारीले निष्पक्ष र स्वतन्त्र विवेकको आधारमा गर्नुपर्ने भन्दै आफूसँगको सम्झौतापत्र र नियुक्ति रद्द गर्नसक्ने प्रकृया प्रष्ट हुँदाहुँदै पनि प्रकृया र विधि पूरा नगरी भएको कारवाही प्रकृयामा गम्भीर कानूनी र प्रकृयागत त्रुटि रहेको जिकिर गरेका छन्।

उनले यसअघि पनि सेवाबाट किन नहटाउने भनी ऊर्जामन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेको अवस्थामा पुनः सोही बमोजिमको कारवाही गर्न सोही मन्त्रालयको प्रस्ताव एवम् सिफारिसमा स्पष्‍टीकरण माग गर्न नमिल्ने बताएका छन्।

‘एउटै व्यक्ति उपर एउटै विषयमा राज्यको विभिन्‍न निकायबाट पटक-पटक कारवाही प्रकृया अगाडि बढाइनु प्राङन्याय र नेपालको संविधानको धारा २० समेतको प्रतिकुल छ। आरोप कसले लगायो भन्‍ने विषय नभई एउटै व्यक्ति उपर एउटै विषयमा आरोपित गरिएको हो वा हाेइन भन्‍ने विषय गम्भीर कानूनी प्रश्‍न मानिन्‍छ’, उनले जवाफमा लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *