सिरियामा हिंसा भड्किएपछि २ दिनमा १ हजारभन्दा धेरैको मृत्यु

डिसी नेपाल
२६ फागुन २०८१ ११:०६

काठमाडौं । सिरियाको लताकिया र टार्टसमा सेना र पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच विगत केही दिनदेखि झडप भइरहेको छ। यस हिंसाका कारण २ दिनमा १ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

यो मृत्युको संख्या २०११ मा भएको सिरियाली गृहयुद्ध पछिको सबैभन्दा उच्च हो। यो जानकारी सिरियामा भइरहेको युद्धको निगरानी गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले दिएको हो।

संस्थाका अनुसार पछिल्ला दुई दिनमा सुरक्षा बलले अलाविट मुस्लिम समुदायका ७४५ भन्दा बढी मानिसहरूलाई मारेको छ। तीमध्ये धेरैजसोलाई झुण्ड्याइएको छ।

यसबाहेक १४८ जना असद समर्थक लडाकुहरू पनि मारिएका छन्। साथै, यस हिंसामा १२५ सुरक्षाकर्मीको पनि मृत्यु भएको छ।

गत वर्ष डिसेम्बरमा भएको विद्रोहपछि बसर अल असद देश छोडेर रुस गएका थिए। यसपछि, सिरियामा लडाकू संगठन हयात तहरीर अल-शाम (एचटीएस) ले सत्ता आफ्नो हातमा लियो।

सिरियाली सरकारले भनेको छ ‘असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको थियो।’ यसैबीच, असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्।

रिपोर्टका अनुसार सुरक्षा बलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको थियो। यसपछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै, कर्फ्यू लगाउने आदेश पनि दिइएको छ।

लताकिया र टार्टस प्रान्तमा भएको हिंसाले अबु मोहम्मद अल-जुलानीको नेतृत्वमा रहेको सरकारलाई चुनौती दिएको छ। यी क्षेत्रहरू पूर्व राष्ट्रपति बसर अल-असदप्रति वफादार रहेका अलावाइट समुदायको गढ हुन्। गत वर्ष डिसेम्बरमा बसर अल-असदलाई सत्ताबाट हटाइएपछि सिरियामा भएको यो सबैभन्दा हिंसात्मक भिडन्त हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *