राजतन्त्रका विषयमा रवि र मबीच छलफल भएको थियो : मुकुल ढकाल

डिसी नेपाल
२७ फागुन २०८१ १५:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र आफूबीचमा पार्टी खोल्नुअघि राजतन्त्रको लाइन लिने कि गणतन्त्रको भन्ने विषयमा छलफल भएको डा. मुकुल ढकालले बताएका छन्। रास्वपाबाट निलम्बित महामन्त्री ढकालले आज उक्त खुलासा गरेका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुअघि राजतन्त्रको लाइन लिने कि गणतन्त्रको भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोहि थिएन, जे जति हुन्थ्यो हामी दुइबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुइ/चार पटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो,’ उनले भने।

त्यतिबेला राजा ल्याउने वा आउने विषयमा पूर्वराजा आफैँ बोल्नुपर्ने आफूले सुझाएको उनको भनाइ छ। ‘त्यतिबेला मैले रवि दाइलाई राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ भनेको थिए। जसलाई ल्याउन खोजेको हो, उहाँ आफैँले त म आउने हो भन्न पर्‍यो नि। राजा बोल्न तयार भएनन्। तर, त्यसपछि पनि रवि दाइले राजतन्त्रलाई कुनै न कुनै ढङ्गले समेटौं भनिराख्नु भयो,’ उनले भने।

आफूले प्रस्ताव राख्दा रविले राजासँग सोही अनुसार कुरा गरेको समेत उनले स्मरण गरेका छन्। ‘मैले प्रस्ताव राखेँ, रवि दाइले त्यहि अनुसार राजासँग पनि कुरा गर्नु भयो। मेरो प्रस्ताव थियो- राजाको नीजि सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक/एक वटा ठूला स्कुल र अस्पताल खोलौं। यति घोषणा गरी एकैपटक स्कुल र अस्पतालको शिलान्यास गरौं।’

उनले यस प्रस्तावमा राजाबाट सकारात्मक कुरा नआएको बताएका छन्। राजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गरिएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *