विपिन जोशी रिहाइका लागि दूतावासलाई पत्राचार

कतार। प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि पहलकदमी लिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य सुरेश भट्ट आश्रिनले नेपाली दूतावास दोहा कतारका राजदुत रमेशचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्।
हमासले विपिनसहित अझै ९६ जना नियन्त्रणमा लिएर राखेको अबस्थामा नेपाली विपिन जोशीको रिहाईका लागि कतारका राजा समक्ष उच्च कुटनितिक पहल गरिदिन राजदूतलाई ज्ञापन पत्र बुझाएका छन्। हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो।
पत्रको विवरण
मिति – २०८१ फागुन गते
तदनुसार ११ मार्च २०२५
श्री महामहिम राजदूतज्यू ,
नेपाली राजदूतावास,
दोहा , कतार
विषय : नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको कब्जाबाट मुक्त गर्न पहल गर्ने बारे ।
महोदय ,
उपरोक्त सम्बन्धमा नेपालको कञ्चनपुर जिल्ला घर भई अध्ययनका लागि इजरायल पुगेका नेपाली विद्यार्थी विपिन जोशी विगत १६ महिनादेखि हमासको नियन्त्रणमा रहेको ब्योहोरा अवगत नै रहेको छ । यसै सन्दर्भमा निज जोशीको सकुशल रिहाइका लागि नेपाली अधिकारीहरूले पहल गरिरहेको बताइए पनि कूटनीतिक क्षेत्रका जानकारहरूले सरकारी पहल प्रभावकारी नभएको टिप्पणी गरिरहेको अवस्था छ ।
निज जोशीलाई सन् २०२२ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेदेखि यता नेपालले कुशल कूटनीति प्रदर्शन गर्न नसक्दा यति लामो समयसम्म निज जोशीको अवस्था अझैसम्म अज्ञात नै रहनु अत्यन्तै दुःखद छ । यस कारण, जारी हमास- इजरायल युद्ध रोक्न कतारले मध्यस्थकर्ताको भूमिकासमेत निर्वाह गरिरहेको परिपेक्षमा त्यहाँको कार्यालयमार्फत कतार सरकार समक्ष औपचारिक रूपमा नै कूटनीतिक रूपमा प्रस्ताव गरी नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको कब्जाबाट मुक्त गरी नेपाल झिकाउन महत्त्वपूर्ण तथा अर्थपूर्ण भूमिका निर्वाह गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । साथै, यहाँहरूले प्रस्तुत विषयमा चासो र चिन्ता राख्नुभएकै होला भन्ने कुरामा सकारात्मक रहँदै यहाँहरूसमेतको पहलमा नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको कब्जाबाट मुक्त गरी नेपाल झिकाउन सफल हुनेमा आशावादी छु ।
निवेदक :
सुरेश भट्ट आश्रिन
आइसिसी सदस्य
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ।
Facebook Comment