लोप हुँदै होलीको रौनक, मौलिक संस्कृति गुम्ने खतरा

सचिन्द्र श्रेष्ठ
२९ फागुन २०८१ ७:४७

रंगहरुको पर्वका रुपमा फागु वा होली भनेर परापूर्ब कालदेखि मानिँदै आएको चाड अहिले बिस्तारै संस्कृतिका नाममा छाडापन र ग्ल्यामरतर्फ अगाडि बढेको छ। आफ्नै बिभिन्न धर्म, संस्कृति, भाषा जस्ता लोप भएर पाश्चात्य शैली अपनाउँदा यी धेरै चाडपर्वहरु मौलिकता हराउँदै आधुनिकता तिर जाँदा संस्कृति पनि बिकृति बन्दै गएको पाइन्छ।

पाश्चत्य शैली भित्रने र त्यसको मलजल गर्ने संस्कृति बढ्नुले आगामि दिनमा झन हाम्रा चाड पर्वमाथि बिदेशी हस्तक्षेप प्रहार हुनुले देश कता जाँदै छ र हामी कहाँ जाँदै छौं भन्ने नै भुल्न थालेको प्रष्ट देख्न सकिन्छ।

अहिले चारैतिर होली वा फागुले रौनकता छाएको छ। पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको जित वा अधर्म माथि धर्मको जित। जे जसरी ब्याख्या गरे पनि होली पर्वलाई सद्भाव भाइचाराका रुपमा मनाउन थालिएको हो।

हरेक वर्ष फागुन महिनामा पर्ने वसन्त ऋतुको आगमनको सुरुवातसँगै स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अवीर एकआपसमा छ्यापाछ्याप गरेर होली खेल्ने परम्परा रहेको छ। फागु पूर्णिमालाई पहाडी भेगमा मानिसहरूले यसलाई फागु भनेर भन्छन् भने तराईका मानिसहरू यसलाई होली भन्ने गरेको पाउँछौं।

पाश्चत्य शैली भित्रने र त्यसको मलजल गर्ने संस्कृति बढ्नुले आगामि दिनमा झन हाम्रा चाड पर्वमाथि बिदेशी हस्तक्षेप प्रहार हुनुले देश कता जाँदै छ र हामी कहाँ जाँदै छौं भन्ने नै भुल्न थालेको प्रष्ट देख्न सकिन्छ।

नेवा: परम्परा अनुसार पानीसँग नभएर अवीर र रङसँग होली खेल्ने चलन रहेको पाइएको छ। नेवार संस्कृतिमा होलीका बारेमा युवा युवतीलाई जिस्क्याउँदै लगाउने एक आपसमा माया प्रेम साटासाट गरी मनाउने भएका कारण पनि यो पर्बले उमङ्ग र उत्साह थपिदिने थप ऊर्जा र हर्षोल्लासका साथ मनाउने गरिन्छ।

होली या फागु पूर्णिमाका आफ्ना आफ्नै इतिहास, कहानी वा किम्बदन्ति सुन्न पाइन्छ। नेपालको तराई र भारतका विभिन्न स्थानहरुमा दैत्यराज हिरण्य कश्यपले आफ्ना छोरा प्रल्हादले विष्णुको भक्त गरेका कारण धेरै चोटी मार्न प्रयास गरेपनि असफल भएकोले ब्रह्माबाट आगोले नहुने वरदान पाएकी बहिनी होलीकाले प्रल्हादलाई काखमा राखी बलिरहेको अग्नि ज्वालामा बसेर जलाउने प्रयास गरिन्।

तर देवताको बरदानको दुरुपयोग गरेकीले होलीका आफै आगोले पोलेर मरिन्। तर विष्णुभक्त प्रल्हादलाई भने केही पनि भएन। यसरी सत्यका सामु असत्य पराजित भएको र सत्यको विजय भएको खुशीमा होली खेल्दै आएको कथन छ।

‘अबिरया होली तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी दयेक ब्यु’ होस् या होलिया मेला, मयजु मस्युला अबिर भचाः नः त्ये मज्युला’ जस्ता गाइने यी नेवारी गीतहरु बिस्तारै लोप भई रहँदा होलीमा विकृति र विसंगति भित्रिरहेको अवस्थामा नेपालका विभिन्न भागमा फरक फरक तरीकाले स्थानीय नेवारहरुले आफ्नै मौलिक परम्पराका साथ होली पर्व मनाउने प्रचलन रहिआएको छ। यसरी आफ्नो संस्कृति बचाई राखेको देख्न पाइन्छ साथै घरपरिवारका सदस्यले ठूलाबडासँग आशीर्वाद लिई रङ,अबीर लगाएर होली मनाइन्छ र दीर्घायूको कामना गर्ने चलन छ।

आजभोलि रमाइलो र मनोरञ्जनका निम्ति गाँजा, भाङ, जाँड,रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ मिसाई प्रयोग गर्ने तथा सवारी साधन समेतमा लोला हिर्काउने, सडक बाटोमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत बिना अनुमति रङ र लोला हान्ने जस्ता विकृतिलाई प्रशासनले निगरानी गर्नु पर्दछ।

जाँड रक्सी सेवन गरी सवारी चलाउदा दुर्घटना निम्तिने खतरा र होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न सोही दिन ट्राफिक चेक जाँच कड़ा हुनु पर्दछ।

सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने, युवा युवतीहरु नशाको सेवन गर्ने भएकाले लड़ाई झगडा हुने, जसका कारण ठूलो दुर्घटना हुने खतरा रोक्न प्रशासन तत्पर हुनु पर्दछ। रमाइलो सांस्कृतिक कार्यक्रम, कन्सर्ट हुने हुँदा उच्छृंखल गतिविधि हुने सडक आगमन अवरोध हुने गरी सडकमा होली खेल्ने कामलाई कम गर्दै बरु आफ्नै घर समूहमा सभ्य र भय रहित तबरले मनाउन आग्रह गर्नु पर्दछ।

बालबच्चाहरुका अभिभावकले पनि उक्त दिन बिशेष ध्यान दिनु आवश्यक छ। रंग दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप घरका छतमा बसेर खेल्ने हुँदा छत बाट खस्ने,बिजुलीका तारमा छोइएर करेण्ट लाग्ने खतरा बढी हुने संभावना रहेको हुन्छ।

यी चाड पर्व हाम्रो संस्कृतिलाई जीवन्त राख्न मद्दत गर्दछ। समय सापेक्ष परिवर्तन भइ रहने यी पर्बले विभिन्न रंगहरुको माध्यमबाट एक आपसमा प्रेम, आत्मियता, सद्भाव आदान प्रदान गर्ने भए पनि यो हाम्रो परम्परा, मौलिकता परिमार्जन भएको छ।

तर परिमार्जनका नाममा यसरी लोप हुँदै जाने, बिकृति बिसंगति बढ्दै जाने परम्परालाई तोडेर पुराना संस्कार, संस्कृतिको रक्षा गरी नया आउने पिढीँलाई सकारात्मक सोच सिकाउन आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *