मेचीनगर गोल्डकपः धरानलाई पराजित गर्दै काँकडभिट्टा फाइनलमा

डिसी नेपाल
२८ फागुन २०८१ २२:५६

झापा। काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनलमा प्रवेश गरेको छ।

आयोजक काँकडभिट्टाले सडनडेथमा ५–४ को गोल अन्तरले धरान एफसीलाई पराजित गरेको थियो। उपाधिका लागि काँकडभिट्टाले बिहीबार हुने चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबीचको अन्तिम सेमिफाइनलका विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

खेलको ३४औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट एक्लै लगेर पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भएको थियो।

खेलको ७२औँ मिनेटमा आयोजक काँकडभिट्टाले खेल बराबरी गरेको थियो। विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई पेनाल्टी एरियामा पाएको हेड बललाई हेमन्त लिम्बूले सहजै जाली चुमाएका थिए।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो। सडनडेथमा काँकडभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरेका थिए भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाएका थिए। टाइब्रेकरमा काँकडभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो।

खेलको प्लेयर अफ द म्याच गोलरक्षक विवस चौधरी भए । उनले नगद रु ११ हजार पुरस्कार पाए। प्रतियोगिताभरको प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन्।

फाइनल खेलको विजेताले नगद रु १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद रु पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *