बिहानैदेखि ठाउँ-ठाउँमा होली विशेष चेकिङ, २७ सय बढी प्रहरी परिचालन

काठमाडौं। काठमाडौं। उपत्यका लगायतमा होली मनाउन शुरु भएसँगै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। चेकजाँच र निगरानीका लागि २ हजार ७ सय बढी प्रहरी खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
होली पर्वको अवसरमा उच्छृंखल गतिविधि गर्ने,जथाभावी लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु नियन्त्रण गर्न प्रहरीले चेकजाँचमा कडाइ गरेको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ।
होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा आउ-जाउ गरिरहेका सवारी चालकहरुलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा पनि कडाइ गरिरहेको छ।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा चेकिङ पोष्ट राखिएको छ।होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० भन्दा बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ। होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा सीटीभी र ड्रोनबाट पनि निगरानी गरिरहेको प्रहरीको भनाइ छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता (मापसे) भन्दा लागु औषध सेवनकर्ता (लापसे) बाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ। उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने भएको छ।
ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ। होलीका अवसरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा हुने कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएकाे छ।
Facebook Comment