१५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न हुँदै

काठमाडौं। मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ। फागुन औँसीका दिन सुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औं दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन् ।
मिथिलामा १५औं दिनको रात्रिबासपछि १६औं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ । अहिले पञ्चकोशी परिक्रमाका यात्री जनकपुरधामको अन्तरगृह परिक्रमा पथमा अटुट मानवपंक्ति देखिँदो छ । यो अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यस वर्षको मध्यमा परिक्रमा सम्पन्न गर्दैछन् ।
मिथिलामा फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन (जलाएर खरानी बनाउने) गरिने चलन छ । परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँँदै आपूmभित्रको खराब प्रवृत्ति अन्त्यको कामना गर्दछन् । यो खरानी उडाइने चलनलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ । अन्तरगृह यात्रामा मध्यमा परिक्रमामा सरिक हुन नसकेका सर्वसाधारण पनि सरिक हुन्छन् । मध्यमा परिक्रमा गर्न नसकेकाहरूले अन्तरगृहसम्म यात्रा गरे पनि पुण्य प्राप्त हुने मैथिल जनविश्वास छ । यसै विश्वासले आज महोत्तरी, धनुषालगायत आसपासका जिल्लाबाट हजारौँका संख्यामा सर्वसाधारण अन्तरगृह परिक्रमामा सरिक भएका छन् ।
मधेसमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा सुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार आज पर्व मनाउने तयारी छ । मध्यमा परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ । यसअनुसार मिथिला मध्यमा परिक्रमा पथभित्र भोलि शनिबार होली मनाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा. रवीन्द्रदास वैष्णव बताउँछन् । निर्धारित वृत्तभित्रका १५ ठाउँ रात्रिविश्राम गरेर १६औं दिन बिहान सम्पन्न गरिने मिथिला मध्यमा परिक्रमा यात्रा कल्याण र मोक्षको कामनासाथ गरिन्छ ।
अघि त्रेतायुगमा श्रीराम र सीताले मिथिलाका विभिन्न भेगको विहार गरेका ठाउँमा सो पदचाप पछ्याउँदै १८औं शताब्दीमा मिथिला मध्यमा परिक्रमा थालिएको विश्वास गरिन्छ । यद्यपि यसको समापनसम्म आइपुग्दा सत्ययुगमा राक्षसराज हिरण्यकशिपुले विष्णुभक्त छोरा प्रह्लादलाई मार्न गरेका अनेकौं प्रयत्न विफल भएको कथावस्तु पनि जोडिएको मिथिला लोकपरम्पराका ज्ञाता एवं मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर–५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।
खासमा होलीपर्व प्रह्लादलाई मार्न अग्निले नडढाउने वरदान पाएकी आफ्नी बहिनी होलिकाको काखमा छोरालाई राखेर चितामा बसाइ आगो झोस्दा होलिका डढेर खरानी भएकी र पह्लाद भक्ति मुद्रामा सकुशल रहेका कथा रहेको उनी बताउँछन् । मध्यमा परिक्रमाको समापन र प्रह्लाद कथा यहाँ एउटै समय (फागुन पूर्णिमा) पर्दा दुवै कथावस्तु जोडिएका रायको भनाइ छ । यसमा मध्यमा यात्रा श्रीराम सीताको पदचाप पछ्याउन र फागुपर्वचाहिँ प्रह्लाद बचेर राक्षसी प्रवृत्ति अन्त्य भएको खुसीमा मनाइने परम्परा बसेको निष्कर्ष निकाल्न सकिने रायसहितका पाका मैथिल बताउँछन् । रासस
Facebook Comment