माओवादी केन्द्रीय कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । आफूहरूसँग भएका सहमतिका आधारमा विधालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडामा धर्ना दिएको छ।
दोश्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले आफूहरूको माग पूरा गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो। सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा संसदको चालू अधिवेशनबाटै विधालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
उनले शिक्षाप्रतिको उदाशिनताका कारण मुलुकको विकास हुन नसकेको जिकिर गरे। शिक्षाको विकासमा सरकारको कुनै ध्यान जान नसकेको उनको भनाइ छ। उनले आफूहरूको माग पूरा गर्न सरकारलाई बाध्य पार्ने चेतावनी दिए।
दोश्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ।
त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको भनाइ छ। अब सरकारसँग कुनै वार्ता नगर्ने र यसअघि भएका सहमति कार्यान्वयनका लागि दबाब दिने अध्यक्ष सुवेदीले बताए।
Facebook Comment