पीएम कप क्रिकेटः बागमती र पुलिस विजयी

डिसी नेपाल
३० फागुन २०८१ १८:२५

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गर्दै बागमतीले पहिलो जित दर्ता गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो। सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रनको योगफल तयार गरेको थियो। बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७७ रन जोडे।

त्यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा एपिएफलाई दुई विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ।

एपिएफले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६ दशमलव २ ओभरमा आठ विकेट गुमाउँदै ९७ रन बनायो। पुलिसका कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो। एपिएफका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *