श्रष्टालाई सम्मान गर्दै शुरु भयो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको पूर्वी अडिसन

डिसी नेपाल
१ चैत २०८१ २०:५८

झापा। विश्वभरका नेपाली प्रतिभाहरु प्रतिष्पर्धा हुने दुई रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको पूर्व क्षेत्रका लागि तय भएको अडिसन शनिवार शुरु भएको छ।

सयौं प्रतिष्पर्धीहरुको भीडभाडका बीच पूर्वका दुई श्रष्टाहरु बरिष्ठ गीतकार शिवशंकर थापा र बरिष्ठ गायक कुवेर राईसहित आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर गरेका थिए।

सो अवसरमा अध्यक्ष अधिकारीले नेपाली संगीत क्षेत्रमा स्थापित श्रष्टाद्वयलाई पुष्पगुच्छा एवं नगद रकमले सम्मान गरेका थिए। सो अवसरमा अध्यक्ष अधिकारीले कलाकारहरु समाजका अगुवा हुने हुनाले समाजलाई उदाहरण बनेर डोहोर्याउन आग्रह गरे।

उनले नेपालीपन र नेपाली पहिचानलाई विश्वभर रहेका नेपालीजनमा जीवन्त राख्न, अर्को पुस्तामा पनि नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न र विश्वभरका नेपालीलाई नेपाली कला संस्कृतिका माध्यमबाट नेपालसँग जोड्नका लागि यी दुई रियालिटी शोहरु आयोजना गरिएको बताए।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स पूर्वी क्षेत्र अडिसनका संयोजक रुपक ओडारीले दिएको जानकारीअनुसार, सो क्षेत्रमा दुवै शोका लागि ११ सय ४३ प्रतिभाहरुले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएका छन्।

पहिलो दिन शनिवार विर्तामोडको ग्रीन फिल्ड स्कूलमा विहान ११ बजेदेखि शुरु भएको अडिसनमा ६ सयको हाराहारीमा प्रतिभाहरुले प्रतिष्पर्धा गरेका छन्। बाँकी प्रतिष्पर्धीहरुले आइतवार सहभागिता जनाउने छन्।

आयोजक संस्थाका राजेश घतानीका अनुसार, इच्छुक प्रतिभाहरुले सिधै अडिसनस्थलमै गएर पनि नाम दर्ता गराउन सक्ने व्यवस्था भएकाले सहभागीहरुको संख्या बढेको छ।

उनका अनुसार, गायनमा प्रतिष्पर्धीहरुको संख्या धेरै भएकाले प्रिअडिसनमा छनौट भइसकेपछि अडिसनमा सहभागी गराइएको र त्यसबाट पनि छनौट भएकाहरुलाई फाइनल अडिसनमा लगी अन्तिम छनौट गरिएको छ। नृत्यको लागि भने प्रि अडिसन र फाइनल अडिसन गरी दुई चरणमा प्रतिष्पर्धीहरुको छनौट प्रक्रिया निर्धारण गरिएको उनले बताए।

संसारभरका नेपाली प्रतिभाहरु बीच प्रतिष्पर्धा गराउने यी दुई रियालिटी शो हरुको लण्डन, पोर्चुगल,अष्ट्रेलिया, जापान, थाइल्याण्ड, हङकङ, दुवई, कतार, मुम्वाई र सिलिगुडीका अडिसनहरु सम्पन्न भइसकेका छन्। नेपालमा पनि पोखरा र नेपालगञ्जका अडिसनहरु समापन भएका छन् भने विर्तामोडपछि चैत्र १६ र १७ गते काठमाडौंमा अडिसन हुने बताइएको छ।

प्रथम हुनेले हालसम्मकै सर्वाधिक पुरस्कार राशी एक करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख रकम पाउने यी दुबै शोहरुमा संसारभरबाट एकसय २० जना गायनमा र त्यत्ति नै संख्यामा नृत्यमा प्रतिभाहरु छनौट गरेर काठमाडौं लगिने आयोजकले जनाएको छ।

दुबै रियालिटी शोहरु नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रसारित हुने छन् भने मेरो भ्वाइस युनिभर्सलाई विशाल भण्डारी र विशाल अर्यालले तथा मेरो डान्स युनिभर्सलाई माैसमी गुरुङले निर्देशन गर्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *