कविता : लोकतन्त्रको त्रास!

ठाकुर बेलवासे
२ चैत २०८१ १०:५१

हामी हाँस्दै थियौं
उसले हाम्रो हाँसोमा
आँसुको बाढी पठाइदियो

हामी बोल्न खोज्दै थियौं
उसले हाम्रो जिब्रो काटिदियो

हामी हिँड्न थाल्दै थियौं
उसले बाटोमा पहिरो हालिदियो!
ऊ हामीलाई
तालिम प्राप्त आज्ञाकारी पशुजस्तो
बनाउन चाहन्थ्यो!

हामीले
उसका बिरूद्ध आफ्नै रगतको खोलो बगायौं
आफ्नै ज्यानको मसाल सल्कायौं
अन्ततः
उसका सबै हठहरू खरानी भए!

अहिले ऊ
खरानीबाट विस्तारै उठ्दैछ!
अब ऊ
हिड्ने छ!
बोल्ने छ!
खितखिताउने छ!
चिच्याउने छ!
दौड्ने छ!

उसलाई हिँड्न/ हाँस्न / बोल्न
कतै रोकतोक हुने छैन!
किन कि
यो लोकतन्त्र हो!

लोकतन्त्रले मान्छेसँगै
सम्मपूर्ण प्राणीलाई सोच्दछ!
ढुङ्गा ,माटो ,पानी , हावा
र पातपतिङ्गरको कुरा गर्ने
लोकतान्त्रले
निरङ्कुशका पनि कुरा सुन्छ!


लोकतन्त्रको शक्ति देखेर
सधैं उर्जावान शक्तिशाली बनिरहेको हुन्छु!

बद्लाको भाव त
निरङ्कुशसँग मात्रै हुन्छ!

लोकतन्त्र हावा हो
सूर्य हो
माटो / ढुङ्गा /पानी हो!

लोकतन्त्र आफैसँग मात्र डराउँछ!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *