डा. पीताम्बर अवस्थीलाई जयराज पन्त लोकसाहित्य पुरस्कार

डिसी नेपाल
२ चैत २०८१ २३:०७

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा प्रत्येक वर्ष प्रदान गरिने विभिन्न विधाका पुरस्कार मध्ये शिक्षाविद् शिवराज पन्त मिठुले स्थापना गरेको जयराज पन्त लोकसाहित्य पुरस्कार भारतको उत्तराखण्डस्थित पिथौरागढ निवासी वरिष्ठ साहित्यकार डाक्टर पीताम्बर अवस्थीलाई धनगढीमा एक समारोहबीच अर्पण गरिएको छ।

समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्म्पन्न पुरस्कार तथा सम्मान अर्पण कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सांसद विक्रमसिंह धामी रहेका थिए।

डा. अवस्थीले नेपाल र भारतका साहित्यकार, संस्कृतिविद्, इतिहासकार, कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना पिथौरागढमा गर्दै आएका छन्।

७० हजार भन्दा बढी पुस्तक भएको संस्कृत ज्ञानप्रकाश पुस्तकालय स्थापना गरेर पठन संस्कृतिको उन्नयनमा उनको ठूलो योगदान रहेको छ।

उनले आफ्नो आमाको नाममा स्थापना गरिएको हरूली आमा छात्रवृत्ति धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालयका चार जना छात्राहरूलाई प्रदान गर्दै आएका छन्।

उनले युवाहरूलाई कुलतबाट जोगाउन आध्यात्मिक नशामुक्ति अभियान भारत र नेपालका विद्यालयहरूमा सञ्चालन गरिरहेका छन्। उनी भारतमा नशामुक्ति अवस्थीका नामले सुप्रसिद्ध छन्। उनी बेटी बचाओ बेटी पढाओ अभियानका पनि अभियन्तासमेत हुन्।

उनी सुदूरपश्चिम प्रदेश र कुमाउँ गढवालको सामाजिक सांस्कृतिक जनजीवनको साझा विरासतलाई सुदृढ गर्न र नेपाल भारत सम्बन्धलाई सुमधुर बनाइ राख्न साहित्यमार्फत सक्रिय छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *