नेपाल प्रहरीको ३१औं महानिरीक्षक बने दीपक थापा

डिसी नेपाल
३ चैत २०८१ १८:४६

काठमाडौं। नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो।

आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका थापा एक नम्बरमा थिए। प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए।

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन्। एआईजी थापाले भोलि चैत ५ बाट आईजीपीको कार्यभार सम्हाल्दैछन्।

थापाले इन्स्पेक्टर दर्जादेखि एआईजीसम्म, उनले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन्। नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसर को रूपमा उनी परिचित छन्। एआईजी भएपछि उपत्यका प्रहरी कार्यालयको प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख भई कार्यसम्पादन गरेका थिए।

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नेतृत्व सम्हालिरहेका छन्। प्रशासन विभागमा हुँदा कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेर पुरस्कृत समेत भएका थिए।

डीआईजीमा हुँदा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख र एसएसपीमा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुखका साथै एसपी पदमा हुँदा उनी जिल्ला प्रहरी कार्यालय, चितवन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुख र डीएसपी पदमा जिल्ला प्रहरी कार्यालय, खोटाङ प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगन्ज प्रमुख, रुपन्देही इलाका प्रहरी कार्यालय प्रमुख, इन्स्पेक्टर पदमा नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक र ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा २० फरक युनिटको नेतृत्व गरिसकेका अफिसर हुन्।

थापा व्यापक नेतृत्व अनुभव, कमाण्ड कन्ट्रोलको उत्कृष्ट ट्रयाक रेकर्ड, तथा प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अफिसर हुन्। उनी नेतृत्व गरेको सबै जसो युनिटमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्।

हाल चर्चामा रहेको नुवाकोटस्थित शेरा दरवारक्षेत्रले ओगटेको १ सय ६४ रोपनी जग्गाको अनुसन्धान एआइजी थापाकै नेतृत्वमा रहेको सिआइबीको टोलीले गरेको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *