सत्ता समीकरणमा अर्कै गन्ध

काठमाडौं। राजावादीहरुको राजधानीमा प्रदर्शनपछि आत्तिएका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेको विवरणहरु आइरहँदा सत्ता समीकरणमा अर्कै गन्ध देखा परेको छ।
सडकदेखि सदनसम्म राजसंस्थाको पक्ष र विपक्षमा बहस भइरहँदा यतिबेला सरकार परिवर्तनको चर्चाले व्यापकता पाएकाे छ।
सरकार र व्यवस्थामाथि नै जनआक्रोश बढिरहेका बेला फेरि चाँडै नयाँ समीकरण बन्ने चर्चाले राजनीतिक बृत्त तरंगित बनेको छ। केही शक्ति केन्द्रले यही चैत्रभित्रै नयाँ समीकरण बन्ने र त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने दाबी गर्न थालेका छन्।
यतिबेला मुलुकमा राजतन्त्र फर्काउने र गणतन्त्रको रक्षाका लागि उभिने भन्दै दुई ध्रवमा विभाजित बनेको छ। यही मौकामा केही राजनीतिक दल र शक्तिकेन्द्रहरु नयाँ राजनीतिक समीकरणको पक्षमा देखिएका छन्।
स्रोतका अनुसार वर्तमान सरकारको विकल्पमा नेपाली कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गरेर जानु पर्ने भन्दै नयाँ समीकरणको पक्षमा वकालत गर्न थालेका छन्।
‘तत्काल एमाले बाहेकका राजनीतिक दल मिलेर नयाँ समीकरण गरेर जाने गरी एक्सरसाइज भइरहेका छन्,’ स्रोतले भन्यो, ‘चैतको तेस्रो साताभित्र नयाँ समीकरणले मुर्तरुप लिन्छ।’
देउवालाई प्रधानमन्त्री बनाउन संसदमा प्रतिनिधित्व गर्ने दल सबैजसो दल तयार रहेको स्रोतले दाबी गर्यो। त्यो समीकरणमा एमाले मात्र विपक्षीमा रहने गरी शक्तिकेन्द्रहरुले कोशिश गरिरहेका छन्।
अर्कोथरी अहिले व्यवस्था र राजनीतिक दलप्रति नै जनआक्रोश बढिरहेका बेला फेरि नयाँ सत्ता समीकरणमा लाग्दा राजावादी शक्तिलाई फाइदा पुग्ने भन्दै अहिले कै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गरेर गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिइरहेका छन्।
राजनीतिक अस्थिरताका कारण जनतामा वितृष्णा बढको भन्दै अहिले सत्ता समीमरणमा लाग्दा झन् प्रत्युत्पादक हुने उनीहरुको तर्क छ।
गणतन्त्रको रक्षा गर्न सबै गणतन्त्रवादीहरु एक ठाउँमा उभिनु पर्ने भन्दै त्यसका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्दा उपयुक्त हुने माओवादीले बताउन थालेको छ।
माओवादीले अहिलेको समस्या सरकारमा रहेको भन्दै गणतन्त्र पक्षधर तर कांग्रेससँग मिलेर अर्को बनाउनु पर्ने गरी माओवादी अध्यक्ष प्रचण्ड र देउवाबीच छलफलसमेत भएको स्रोतको दाबी छ।
‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको बीचमा सहकार्य, व्यवस्था र संविधानको रक्षा, संविधानको सफल कार्यान्वयनको प्रक्रियामा एमालेभन्दा कांग्रेस सापेक्षित प्रगतिशील भएको नाताले हाम्रो छलफल कांग्रेससँग बढी हुन्छ,’ माओवादीका एक नेताले भने।
गणतन्त्रवादीहरु नयाँ सरकार गठन गर्ने तयारीमा लागिरहँदा राजावादी भने राजतन्त्र फर्काउने गरी आन्दोलनको तयारीमा लागेका छन्।
Facebook Comment