पाथिभरा मन्दिर जाने ‘सिजन’ सुरु

डिसी नेपाल
३ चैत २०८१ २२:५५

ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ। मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ। वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ।

तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो। चिसो मौसममा भक्तजनको सङ्ख्या न्यून रहने गरे पनि बडादसैँ र रामनवमीको समयमा दैनिक हजारौँ भक्तजन पाथिभरा पुग्ने गर्छन्।

यस वर्ष पाथिभरामा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवादका कारण फागुन महिनामा अघिल्लो वर्षको तुलनामा भक्तजनको सङ्ख्या घटेको छ। पाथिभरा क्षेत्र विकास समितिका अनुसार गत वर्ष फागुनमा १७ हजार ९१२ भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष सोही अवधिमा करिब सात हजार ४२८ मात्रै यहाँ आएका छन्। समग्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै दुई हजारभन्दा बढी भक्तजन पाथीभरा आएका छन्।

केबलकारको विरोधमा केही दिन भएको बन्द तथा यसबाट उत्पन्न परिस्थितिका कारण भक्तजनको सङ्ख्यामा कमी आएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए। उनले हाल पाथिभरा जान आउन कुनै समस्या नभए पनि कतिपय भक्तजनमा अन्योलता कायमै रहेकाले निर्धक्क भएर आउन आग्रह गरे।

पाथिभरालाई साक्षात् देवीको रूपमा लिइने भएकाले यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ। यही आस्थाका कारण स्वदेशी मात्र नभई भारतलगायत विभिन्न देशका भक्तजनसमेत यहाँ आउने गर्छन्। पाथिभरा क्षेत्र विकास समितिका अनुसार वार्षिक करिब तीन लाख भक्तजन यहाँ पुग्ने गरेका छन्।

पाथिभरा जाने सुकेटार काफ्लेपाटी सडकखण्ड स्तरोन्नति, तमोर करिडोर निर्माण हुनुका साथै पछिल्लो समय प्रचारप्रसारसमेत बढेकाले विगतका वर्षको तुलनामा भक्तजनको सङ्ख्या भने बढ्दै गएको समितिले जनाएको छ। हिजोआज इटहरी, धरान हुँदै तमोर करिडोर र झापाको विर्तामोड, ईलाम हुँदै पाथिभरा जान सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *