ट्रम्पले भने- ‘पुटिनसँगको वार्ताअघि केही मुद्दामा सहमति भयो’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापना गर्ने सम्झौताको सन्दर्भमा ‘केही मुद्दाहरूमा’ सहमति भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा यो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, “म मंगलबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा चलिरहेको युद्धसँग सम्बन्धित विषयमा छलफल गर्नेछु। सम्झौताको सम्बन्धमा ‘केही मुद्दाहरू’ मा सहमति भए पनि धेरै कुराहरू बाँकी नै छन्।”
रुस र युक्रेनबीच चलिरहेको युद्धको बारेमा ट्रम्पले लेखेका छन्, “हजारौं युवा सैनिकहरू सहित धेरै मानिसहरू मारिएका छन्। प्रत्येक हप्ता दुवै तर्फ २५०० सैनिकहरू मरिरहेका छन्। यो अब अन्त्य हुनुपर्छ।”
“म राष्ट्रपति पुटिनसँगको मेरो फोन वार्ताको लागि उत्सुक छु।”
यसअघि राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई भने, “हामी शान्ति सम्झौता, युद्धविराम गर्न सक्छौं कि सक्दैनौं भनेर हेरिरहेका छौं। र मलाई लाग्छ हामी त्यो गर्न सक्छौं।”
सोमबार राति, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि युद्ध लम्ब्याएको आरोप लगाए।
Facebook Comment