संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र जनताको एजेण्डा

यतिबेला मुलुकमा वर्तमान व्यवस्था रहने कि नरहने भन्नेबीच ठूलो चर्चा र बहस सुरु भएको छ। गणतन्त्रप्रति जनतामा आक्रोश र वितृष्णा देखिएका बेला एकाएक राजा र हिन्दु राष्ट्रप्रति जनतामा लगाव देखिएको छ।
सनातनी हिन्दु धर्म र संबैधानिक राजतन्त्रको ठूलो लालसा र गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षताप्रति ठूलो उदासिनता देश भर फैलिएको छ। अधिकांश जनता पुरानै धर्म, संस्कृतिमा अडिएको राजतन्त्रात्मक हिन्दु राष्ट्र फर्काउने कोसिसमा लागिपरेका छन्।
देशमा फेरि ठूलो राजनीतिक आन्दोलन गरी परिबर्तन ल्याउने, संवैधानिक राजतन्त्र स्थापना गरी राजालाई एकताको केन्द्रमा राखी देशमा शान्ति ल्याउने अभियानमा राजतन्त्रवादी शक्ति लागेका छन्।
नेपालको राजा र हिन्दु धर्म समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी र यससँग झुकाव राख्ने अन्य अभियन्ता सबै एकै ठाउँमा रही नेपालमा गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्ष राज्यको सट्टा संबैधानिक राजतन्त्र स्थापना गरी राजालाई राष्ट्रिय एकताको प्रतीकको रुपमा राख्ने अभियानमा जुटेका छन्।
यतिबेला संवैधानिक राजतन्त्रसहित हिन्दू राष्ट्र बनाउने अभियान पनि चलिहरेको छ। सनातनी परिपाटीलार्य नै विशेष जोड दिइ त्यसको संरक्षकको रुपमा राजा रहने प्रणालीको खाजीसमेत भइरहेको छ।
प्रजातन्त्र विश्वको उदाहरणीय व्यवस्था हो, यसमा दुई मत छैन। तर हाम्रो जस्तो मुलुकमा लोकतन्त्रको कहिल्यै सदुपयोग हुन सकेन। आफूलाई लोकतन्त्रका मसिहा भन्नेले लोकतन्त्रको सधैं चिरहरण मात्रै गरे। लोकतन्त्रको मर्मलाई आत्मसात नगरी यो व्यवस्थामा सुरुदेखि नै ताण्डव नृत्य गरी आफू र आफू निकटको स्वार्थपूर्तीमा नेताहरु तल्लीन रहे।
उनीहरुले जनताका आधारभूत आवश्यकतासमेत पूरा गर्न सकेनन्। नेताहरु विदेशीको इरासामा चल्न थाले। जनताप्रति उत्तददायी हुने व्यवस्था लोकतन्त्र भएपनि नेताहरु त्यसको विपरित विदेशी शक्तिकेन्द्रप्रति उत्तरदायीहुन थाले।
लोकतन्त्रका नाममा मुलुकमा लुटतन्त्र चल्न थाल्यो। सदियौं देखि चल्दै आएको धर्मसंस्कृतिमाथि प्रहार हुन थाल्यो। मुलुकमा ठूला ठूला भ्रष्टाचारका काण्ड हुन थाले। भएभरका उद्योधन्धा कलकारखाना बन्द भए। बेरोजगारी दर यति बढ्यो कि युवा पुस्ताले देशमा सपनासमेत देख्न छाडे। १२ पास भएपछि युवापुस्ताको गन्तव्य विदेश हुन थाल्यो।
अहिले राजावादीहरु सक्रिय हुन थालेपछि गणतन्त्रवादीको मुटुमा ढ्यांग्रो ठोकेको छ। उनीहरु आत्तिएका छन्। अब गणतन्त्र पक्षधर एकजुट हुनुप¥यो भनेर विलाप गर्न थालेका छन्। अर्थात उनीहरुलाई आफूले गरेको गल्ती कमजोरीको महशुस हुन थालेको छ।
राज्यसत्तामा नेताहरुको पहुँच बढेसँगै मुलुकको इज्जत प्रतिष्ठामा आँच आउन थालेको हो। मुलुकको परराष्ट्र नीति डामाडोल भएको छ। राजदूतमा आफ्ना नातागोतामा मानिसलाई नियुक्त गरिन्छ।
देशले मागेको र खोजेको कुरा यो लोकतन्त्रले प्रदान गर्न नसक्नुको कारणले नै आज फेरि संवैधानिक राजतन्त्रको खोजी जनताले गरेका हुन्। विगत २० वर्षमात्रै यो गणतन्त्रमा देशमा करिव १५ वटा सरकार पष्रिवर्तन भइसकेका छन्। त्यो पनि चार पाँच जना नेताको सेरोफेरोमा मात्रै।
जो प्रधानमन्त्री बनेपनि देश र जनताको पक्षमा सोच्न नसक्नु, आफू र आसोपासेकालाई मात्रै लाभ हुने काम गर्नाको कारण आज जनताले फेरि राजा खोज्न थालेका छन्। अहिले राजावादीहरुको आन्दोलनको संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र बनाउन मुख्य ध्येय रहेको देखिन्छ। जसमा जनताको व्यापक जनसमर्थन देखिँदैछ।
त्यसो त नेपालबाट राजतन्त्र विदा गर्नुको कारण आन्तरिक मात्रै थिएन । किनभने राजसंस्था मुलुकको एकमात्र केन्द्रविन्दु थियो, राष्ट्रिय एकताको प्रतीक थियो। त्यो रहेसम्म नेपाललाई आफू अनुकुल प्रयोग गर्न सकिँदैन भन्नेमा विदेशी शक्तिकेन्द्रलाई थाहा थियो। त्यसैले उनीहरुले लोकतन्त्र, गणतन्त्रको नाममा मुलुकबाट राजतन्त्रलाई नै हटाउने प्रपञ्च गरे, त्यसमा हाम्रा नेता प्रयोग भएका हुन्।
त्यो कुरा बुझेका राजाले जनताको रगत बगेको हेर्दिन भन्दै जनताको नासो जनतालाई फिर्ता लिएर नागरिक सरह भएर बसे। तर आज तीनै जनताले फेरि राजा चाहियो भन्दै सडक तताउन थालेका छन्। जनभावनाको कदर राजतन्त्रको मुलमन्त्र हो। जनताले नै राजा चाहियो भनेपछि यतिबेला राजाले पनि सक्रियता देखाउन थालेका हुन्।
राजालाई जनताहरुले कति मन पराउँछन भन्ने कुरा राजा जहाँ गएपनि उस्तै मान सम्मान र जनताहरु हर्सोल्लासले खुसी भएको देखिन्छ। देशको दुर्गती हेर्दा आज राजालाई जयजयकार गर्नु स्वभाविक कुरा हो। जनता अस्थिर गणतन्त्र भन्दा स्थिर संबैधानिक राजतन्त्र चाहन्छन्।
देशमा अस्थिरता रह्यो भने छिमेकी मुलुक भारत र चीनलाईपनि ठूलो असर र प्रभाव पर्दछ। आजको भूराजनैतिक परिस्थितिमा राजाको धर्म नीति अनुसार नै देश चल्नु राम्रो देखिन्छ। यो कुरालाई जनताले बुझेको र मनन गरेको देखिन्छ, त्यसै कारणले फागुन २५ गते राजाको राजधानीमा भव्य स्वागत गरिएको हो।
जनताले परिवर्तनै चाहेका छन्, अबको परिवर्तन एकले अर्कोलाई निषेध गरेर होइन, सबै हटाउने गरीको हुनुपर्छ। देश र जनतालाई केन्द्रमा राखेर गरिने सहमति वा सम्झौताले मात्रै राजनीतिक निकास दिन्छ र त्यो दिगो हुन्छ। त्यसैले अब देश र जनतालाई केन्द्रमा राखेर नयाँ शिराबाट अगाडि बढ्नुपर्छ। अधिकांश जनताको भावनालाई कदर गर्दै अगाडि बढेको खण्डमा सबैको जित हुन्छ।
Facebook Comment