राजेन्द्र लिङ्देन नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाइने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाइने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा नजाने र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो।
यसअघि नवराज सुवेदीको नेतृत्वमा आन्दोलनमा जाने गरी समिति बनेको थियो। उक्त समितिमा राप्रपाकै उपाध्यक्ष रवीन्द्र मिश्र पनि सदस्य सचिव थिए। अध्यक्ष लिङ्देन भने सदस्य थिए।
उक्त समितिलाई अस्वीकार गर्दै राप्रपाले आफ्नै नेतृत्वमा नयाँ समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
‘राप्रपाले राजसंस्था, हिन्दूराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ,’ पार्टीको निर्णयमा भनिएको छ, ‘ राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ।’
यस्ता छन् बैठकका निर्णय
१. राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरुलाई निरन्तरता दिनेछ। साथै, राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरु तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने निर्णय गरिएको छ। राप्रपाले आन्दोलन र संगठनलाई संगसंगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरु आन्दोलन केन्द्रीत गर्ने निर्णय लिएको छ।
२. देशले भोगिरहेको कठिन अवस्था, शिथिल अर्थतन्त्र, तिव्र भ्रष्टाचार नियन्त्रण र आम जनतामा व्याप्त सामुहिक निराशालाई चिर्न संसदका पहिलो र दोश्रो दल सम्मिलित कांग्रेस-एमालेको सरकार पूर्णत: असफल रहेको राप्रपाको निश्कर्ष रहेको छ। केवल सरकारहरु परिवर्तन हॅुदैमा देशको विद्यमान समस्याहरुको समाधान हुन सक्दैन, प्रणालीगत कमजोरीमा आमूल सुधार अहिलेको आवश्यकता हो। यसका लागि राप्रपाले निरन्तर उठाउॅदै आएको र सबैलाई स्विकार्य हुने ‘नवीन समझदारी’ उपयुक्त विकल्प हो। कसैलाई निषेध नगर्ने ‘नवीन समझदारी’का लागि तयार हुन राप्रपा सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछ।
३. आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसंग पारस्परिक एकता, संवाद र सहकार्यको लागि राप्रपाले पहलकदमी गर्नेछ। यसका लागि सम्बद्ध पक्षलाई राप्रपा हार्दिक आह्वान गर्दछ।
Facebook Comment