पाल्पाकाे शहीद क्याम्पसमा हवाई फायर, मतगणना स्थगित

पाल्पा। शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सृजना भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत त्रिविक्रम खनालले सूचना मार्फत जानकारी दिए।
सर्वपक्षीय छलफल पश्चात् रोकिएको मतगणना प्रक्रिया पुनः सुरु हुने बताइएको छ । सर्वपक्षीय बैठकका लागि पहल भइरहेको खनालले बताए ।
मतगणनाको क्रममा विवाद आएपछि आक्रोशित भिड क्याम्पस परिसरमा प्रवेश गरेको थियो । क्याम्पस परिसर भित्र नाराबाजी, हुल हुज्जत हुन थालेपछि स्थित नियन्त्रणमा प्रहरीले राती १२ बजे हवाई फायर समेत गरेको छ ।
मतगणना स्थलको सुरक्षा र झडपको स्थिति सृजना हुन नदिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिए।
अहिले क्याम्पसमा सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ । क्याम्पसमा भएको मतदानमा कुल ७१५ मतदाता मध्ये ५७१ मत खसेको थियो । ४७४ मत गणना भइसकेपछि राती १० बजे देखि मतगणना रोकिएको हो ।
Facebook Comment