मोबाइलको लत र हाम्रो शिक्षा नीति

कृष्ण बोहरा
९ चैत २०८१ ८:२०

कुनै पनि कुरा बार बार दोहाेर्‍याइरहने प्रक्रियाबाट मानिसमा लतको बिकास हुन्छ। पटक पटक जब हामी कुनै क्रिया गर्दछौं, त्यसबाट एक किसिमको नसा लाग्छ। उही काम हामीलाई पुन गरु गरु लाग्ने हुन्छ। जुन टाइममा हामीले त्यो क्रिया गर्ने गर्दछौं उही टाइममा त्यो नगरे औडाहा नै हुने हुन्छ।

यसरी हेर्दा टाइममा खाना खाजा खाने, टाइममा दिसा पिसाब गर्ने, टाइममा सुत्ने र ब्यक्तिगत सरसफाइका कुरा पनि हाम्रो लत वा बानी नै हो। निरन्तर दोहाेर्‍याइरहने क्रियाको फलस्वरुप हाम्रो शरीर मन मष्तिष्कले माग गर्ने निश्चित टाइमको निरन्तरता हो।

खाना खाने बेलामा खाना नखाए हामीलाई भोगको महसुस हुन्छ। समयमा नसुतेमा पनि हामीलाई निन्द्रा लागेकै हुन्छ। बिहान सबेरै नित्य कर्मकोलागि हामी आतुर हुने हुन्छौं। यो सबै लत हाम्रो बंश बंशाणुगत रुपमा हुर्केको निरन्तरताको कारण हामीमा उत्पन्न भएको हो।

खाना खानु, निन्द्रा लाग्नु, आराम गर्नु, रुनु हास्नु, संबेदनाहरु ब्यक्त गर्नु, मनोरन्जन गर्न मन पराउनु, सृष्टि धान्नु आदि त मानिसको जन्मजात गुण हो। तर यी सबै कर्म कुन समयमा गर्ने भन्ने कुरा र के खाने र के नखाने भन्ने कुरा आर्जित हो। टाइम ब्यबस्थापनको कुरा मानिसको निरन्तर गर्ने कर्मबाट बसेको लत हो। यी कुराहरु मानिसहरुको आफ्नै ब्यबहारहरुले प्रमाणित गरेको तथ्य हो।

लतहरु पनि सकारात्मक र नकारात्मक हुन्छन्। मादक पदार्थ सेवन गर्ने, धुमपान गाँजा चरेस पान सबै नकारात्मक लतहरु हुन्। खाना नखाए मानिस बाच्दैन तर धुमपान र मद्यपान नगरेपनि मानिस बाच्दछ। तैपनि मानिस धुमपान र मद्यपानकालागि सधैं लालायित हुन्छ। यसको अर्थ मानिसमा पटक पटक सेवन गर्ने निरन्तरताको कारण लतको रुपमा यो बिकास भयो।

सुरु सुरुमा साथी संगीका कारण र पछि लतका कारण मानिस यस किसिमको नकारात्मक लतमा फसेको पाइन्छ। जुन चीजले स्वास्थ्यमा फाइदा गर्दैन भन्ने स्वयंलाई थाहा छ तर लतको कारण उ यसलाई छोडन सक्तैन। धुमपान स्वास्थ्यकालागि हानिकारक छ भन्ने बिज्ञापन चुरोटको बट्टामै दिएको छ तर मानिस त्यसको पनि प्रवाह नगरी सेवन गर्दछ।

यसैले यो भन्न सकिन्छ लतको बिकास विज्ञापन भन्दा पनि जब्बर छ। त्यही सेवन गरेर मानिस मृत्युको मुखमै पुगेको छ तर मद्यपान गर्न उ छोड्दैन। यसैले नकारात्मक यस्तो लतलाई छिप्पिनु अघि नै रोकथाम गर्नु आवश्यक छ।

लतहरु नकारात्मक मात्रै छैनन् सकारात्मक पनि छन्। कविता लेखिरहने लतको कारण कसैलाई कवि बनायो। रामायण महाभारत जस्ता महाकाव्य र भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा आदि जस्ता आदि कवि र महाकवि पनि यहि लतले नै जन्मायो। ठूला ठूला लेखक, उपन्यासकार, नाटककार, कथाकार र बिभिन्न बिधाका पात्रहरु प्नि यहि लतले नै जन्मायो। यहाँसम्म कि आविष्कारकहरु पनि लत कै परिणाम मान्नुपर्छ।

निरन्तर झन्झट नमानी बिभिन्न प्रयोग गरिरहने लत नहुँदो हो त संसारमा कुनै कुराको आविष्कार नै हुँदैन थियो। बार बारको असफलतामा पनि हरेस नखाने प्रबृत्ति बैज्ञानिकहरुमा हुन्छ। यसैले हरेक पेसा ब्यबसाय सबै लत कै परिणाम हुन्। लतकै कारण संसारको बिकास आजको यो आधुनिक जमानामा आइपुगेको हो।

प्रविधिले फड्को मार्दै हामी अहिले संसार सबै हातमै अटाउने प्रबिवि सम्पन्न मोबाइलको जमानामा आइपुगेका छौं। सूचना प्रविधिको इतिहासलाई हेर्दा हामी सजिलै यहाँ आइपुगेका थिएनौं। ढुंगे युगदेखि कल्पना गर्ने हो भने मानिस कुनै जीव जन्तु वा सर्पको भय रहेको ठाँउमा त्यसकै चित्र ओडारको ढुगामा कोरेर छोडिदिने गर्दथे भन्ने इतिहास छ।

अलि बिकसित भैसकेपछि एक ठाउँको खबर अर्को ठाउँ लान मानिस स्वयं दूतको रुपमा पुग्ने गर्दथे। हाम्रो धर्मग्रन्थमा नारद यस्तै दूतको एउटा उदाहरण हुन्। लिपीको बिकास तथा कागज र कलमको आबिष्कार भैसकेपछि अलि सजिलो जमाना आयो। चिठ्ठी लेखेर एक ठाउँको कुरा अर्को ठाउँमा पत्रबाहकको माध्यमबाट पुर्‍याउन थालियो। हुलाकको बिकास यसपछि नै भएको हो।

सूचना र संचार पद्धतीको बारेमा कुरा गर्दा हाम्रो नेपालको इतिहासमा एउटा रमाइलो किस्सा छ। बिक्रम सम्बत् १४०६ मंसिर २२ मा सप्तग्रामका शासक समासुद्दिन इलियास शाह (जो पछि बंगालका स्वतन्त्र सुल्तान भए) ले दक्षिणतिरबाट आएर नेपाल उपत्यकामा हमला गरे।

उपत्यकाका राजाले पश्चिम कर्णाली क्षेत्रका खस राजालाई सहयोगको लागि चिठ्ठी पठाए। पत्र पुगेर दलबलसहित खस राजा नेपाल उपत्यकामा आइपुगे पनि। तर उनी आइपुग्दा हमला र लुटपाट गरी आक्रमणकारी फर्केको एक वर्ष भइसकेको थियो। सूचना र संचार त्यस जमानामा यती ढिला थियो कि त्यो कुनै कामकै थिएन।

महान बैज्ञानिक अलेक्जेण्डर ग्रामवेलले पहिलोपटक टेलिफोनको आविवष्कार गरे। उनले १८७६ मार्च १० मा टेलिफोनको आविष्कार गरेका हुन्। जसबाट सूचना जगतलाई सजिलो बनायो।

पछिल्लो समय सन १९०६ मा इटालियन बैज्ञानिक मार्कोनीले रेडियोको आबिष्कार गरे। तर आधिकारिक रुपमा रेडियोको प्रशारण अमेरिकाको पेन्सलभेनिया शहरबाट सन १९२० मा मात्र सम्भव भएको थियो।

यसपछि भने बिश्वमा रेडियोको प्रशारण सबैतिर हुन थाल्यो। यसले सूचना जगतमा सकारात्मक भूमिका खेल्यो। यसपछि सन १९९६ मा बिश्व टेलिभिजन फोरमको आयोजना भएको थियो। यतिबेलासम्म टेलिभिजन आविष्कार भएको ६९ वर्ष पुगिसकेको थियो।

मात्र २१ वार्षका युवा फिलोटेलर्स फन्सवर्थले पहिलोपटक सन् १९२७ मा टेलिभिजनको आबिष्कार गरेका थिए। टेलीभिजनको बिकास भइसकेपछि सूचना र संचार निकै भरपर्दो भयो।

सन् १९७३ को अप्रिल ३ मा मार्टिन कूपरले मोबाइल फोनको आविष्कार गरे। उनी तत्कालीन मोटोरोला कम्पनीका इन्जिनिएर थिए। उनले किकास गरेको त्यो मोबाइल फोन बजारमा आइपुग्न १० वर्ष लागेको थियो। जसको मूल्य त्यतिबेला ३ हजार ९९५ अमेरिकी डलर थियो।

अहिलेको अवस्थामा त्यो मूल्य कन्भर्ट गर्दा दश हजार अमेरिकी डलर पर्न आउँछ। जसको कारण त्यो सर्वसाधारणको पहुँच भित्र थिएन। अहिलेसम्म आउँदा त्यो मोबाइलको स्तर अभिवृद्धि र बिकाससमेत भएको मात्र नभै सबैको हात हातमा पुग्न सक्ने अवस्थामा मूल्य पनि झरेको छ।

मोबाइलको यो जमानाले संचार क्षेत्र निकै सूसुचित भएको छ। मोबाइलको कारणले रेडियो टिभी मात्र हैन समय हेर्ने घडी र क्यामेरालाई समेत यसले बिस्थापित गरिदिएको छ। हुलाक सेवाका कर्मचारीहरुलाई आराम गरी घाम तापेर बस्ने बनाइ दिएको छ। मोबाइलको कारणले सारा संसार एकजना ब्यक्तिको मूठ्ठीमा अटने भएको छ।

मोबाइलको कारण सूचना क्षेत्रमा आमुल परिवर्तन त सम्भब भयो नै तर हाम्रो देशको शिक्षा नीतिमा समेत सकारात्मक र नकारात्मक अवस्थाको श्रृजना गरेको छ। नकारात्मक यस कारण छ कि मोबाइलको लतको कारण परम्परागत रुपले शिक्षण गरिने हाम्रो शिक्षामा असर परेको छ।

बालबालिकाहरु मोबाइल नहेरी खानै खाँदैनन् अजकल। खाना खाने बेलामासमेत उनीहरुलाई मोबाइल चाहिन्छ। शिशु कक्षादेखि माथिल्लो कक्षासम्मका बालबालिकामा यो लत नराम्ररी झाङ्गिएको छ।

हाम्रा अबिभावक र शिक्षकहरु बालबालिकालाई यो लतबाट छुटाउन चाहन्छन्। कक्षामा मोबाइल लान नपाउने र एसइइ नसकेसम्म मोबाइल छुन पनि नपाउने जस्ता उर्दी पनि जारी गरिएको छ। तैपनि केहीसिप लागेको देखिँदैन।

शिक्षकहरु पुस्तकमा भएको पढाउँछन्। चलाख बिद्यार्थीहरु गुगल सर्च गरेर त्यो भन्दा बढि सिक्छन् र पढ्छन्। जसबाट कक्षा कोठाको सिकाइभन्दा अझ फराकिलो शिक्षाको आवश्यकता समयले माग गरिरहेको छ।

यसैले परम्परागत शिक्षा र शिक्षकलाई पनि पछि पार्ने लक्षण देखिएको छ। अबका शिक्षक प्रविधिमैत्री हुन नसकेमा वास्तबमै उनीहरु शिक्षा क्षेत्रबाट बिस्थापित हुनेछन्।

अबको शिक्षा नीति पनि प्रविधि सम्पन्न नगरिएमा समयको माग र विद्यार्थीको भावनाको प्रतिकुल भै जमानासँग मेल नखाने कुरा निश्चित देखिएको छ। भबिष्यमा कक्षा कोठामा पुस्तक हैन ल्यापटप वा मोबाइल नै हुनेछ। जसबाट विद्यार्थीहरुले संसारमा भएको ब्यबसायिक शिक्षाको बारेमा अवलोकन गर्नेछन्।

बिद्यालय परिसरमै भएको कार्यशालामा प्रयोगात्मक शिक्षा हासिल गर्नेछन्। ससाना बालबालिकाले पनि यूटुवको माध्यमबाट कक्षामा अक्षरहरु पढन सिक्नेछन्। यसैले सानोदेखि ठूलो कक्षासम्मको सबै पाठ्यक्रम अनुसारका पाठ्य पुस्तकहरु यूट्युव सर्च गरेर मनोरञ्जनात्मक तरिकाले हेर्न र पढ्न सक्ने बनाइनुपर्छ। शिक्षकहरुले पनि यस्तै कुरामा अभ्यस्त हुन सक्छन् र बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न सक्छन्। य

सरी मात्र मोबाइल हेर्ने बालबालिकाहरुको लतलाई सकारात्मक लतमा परिणत गर्न सकिन्छ। प्रविधि सम्पन्न शिक्षा आजको आवश्यकता हो। प्रविधि मैत्री शिक्षा बालबालिकाहरुको चाहना हो। यो कुरालाई राज्य सरकार र शिक्षा नीतिले बुझ्नुपर्छ। शिक्षकले पनि यो कुरालाई मनन गर्नु आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *