२५ करोड बरामद प्रकरण : रहस्यमय मालिकको सुन र पैसाको जालो फुकाउँदै प्रहरी

काठमाडौं। नयाँ आइजीपी नियुक्तिको पहिलो रात सोमबार राति ११ बजेतिर काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरो बरामद भयो।
सिन्धुपाल्चोकका एक ट्रक चालकले फल्स बटन बनाएर रसुवा हुँदै चीन लैजान लागिएको सो रकम उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गर्याे। यो विषयमा अपराध अनुसन्धान कार्यालयले थप जाचपड्ताल गरिरहेको छ। तर केही तथ्य बाहिर ल्याएको छैन।
कहाँ र कसरी संकलन भएको थियो भन्ने प्रश्न उब्जिएको भएपनि प्रहरीले बाहिर केही बताएको छैन। कार्यालयले प्रकृया पुर्याएर पैसा र मानिस दुवैलाई राजश्व अनुसन्धान विभागलाई बुझाएको छ।
सुन किन्न कै लागि पठाउन लागिएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ। यद्यपि यो विषयमा थप केही बताएको छैन। अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले अनुसन्धानमै भएकाले केही तथ्य संकलन भएपछि बाहिर ल्याउने बताएका छन्।
५ वर्षअघि ७ किलो अवैध सुन तस्करीको आरोपमा पक्राउ परी २०७८ पुसमा नख्खु कारागारबाट कैदमुक्त भएका कुसाङ लामा यो घटनामा पक्राउ परेका एक मात्रै अभियुक्त हुने निश्चित छ। प्रहरीका अनुसार यसअघिको घटनामा उनीसहित चार जना पक्राउ परेका थिए।
त्यतिबेला पनि उनी भरियाका रुपमा जोडिएको अनुसन्धानबाट देखिए पनि त्यो सुनको मालिक को थियो भन्ने खुलेको थिएन। अहिले पनि यति धेरै रकमको मालिक को हो भन्ने केही खुलेको छैन। उनले पनि केही बताएका छैनन्।
प्रहरीका अनुसार युरो र डलर काठमाडौंमा जम्मा गरिएको हो वा विदेशबाटै ल्याएको भन्नेमा केही खुलाउन सकेको छैन। २५ करोड रुपैयाँभन्दा बढीको युरो र डलर ट्रकभित्रबाट बरामद भएको हो। सो ट्रक झन्डै २० दिनसम्म स्वयम्भूतिरको ग्यारेजमा राखिएको र त्यहीँ फल्स बटम बनाएर रंगरोगन गरिएको सूचना प्रहरीले प्राप्त गरेको छ।
लामाले भने प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले थानकोटमा ट्रक लिएको र व्यापारीहरुले भनेअनुसार कपडा लिनका रसुवागढी जान लागेको बताएका छन्। प्रहरीले पक्राउ गरेको ट्रक लामाको आमाको नाममा देखिए पनि भाइले आफूलाई चलाउन किनिदिएको उनले बताएका छन्।
बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान रहेको छ।
काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका कुसाङको कनेक्सन पत्ता लगाउन प्रहरी अनुसन्धान जारी राखेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी एवं सूचना अधिकारी काजीकुमार आचार्यले पनि उनको र रकम दिने व्यक्तिको कनेक्सन पत्ता लगाउने कोसिस भैरहेको बताए।
‘कुसाङको कनेक्सन पत्ता लगाउन दूरसञ्चारसँग फोन डिलेट मागेका छौँ। उनको आधिकारिक बयान भने भएको छैन, कुसाङको फोन सम्पर्क को-कोसँग भएको छ भन्ने कुरा हेर्दैछौँ’, उनले भने। अपराध अनुसन्धान कार्यालयबाट खटिएका डीएसपी अनिल अधिकारीको टोलीले सोमबार (चैत ४) राति ११ बजे काठमाडौंकै झोर क्षेत्रबाट कुसाङलाई पक्राउ गरेको थियो।
बुधबार (चैत ६) को प्रतिनिधिसभा बैठकमा पनि २५ करोड प्रकरणबारे प्रश्न उठेको थियो। सांसद अमरेशकुमार सिंहले २५ करोड प्रकरणबारे गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने भन्दै सभामुखसँग माग गरे। सांसद सिंहले भने, ‘जहिले पनि हामी भरिया समात्छौं। मालिक समात्दैनौं। मालिक समातेर देखाउनुस्। २५ करोड कुनै भरियाको हुँदैन।’
त्यस्तै, सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटाले २५ करोड रुपैयाँ बरामद भएको घटनाले सिंगो देश नै तरंगित बनेको भन्दै नेपालमा संगठित अपराध र तस्करीको जालो झनै फैलिँदै गएको समेत बताएका थिए।
ठूला काण्डको अनुसन्धान भरियासम्म मात्रै पुग्ने गरेको तर, मालिकसम्म कहिल्यै पनि अनुसन्धान नपुग्ने भन्दै प्रश्न उठिरहेको छ। कुसाङले सो रकम केरुङसम्म पुर्याइदिने तर आफूले कसैलाई नचिन्ने प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।
Facebook Comment