समाज र राष्ट्रको उत्थानमा युवा वर्गको कर्तव्य

मुलुक संकटले घेरिएको छ। यो अवस्था ल्याउनमा सवै जिम्मेवार छन् तर कसैले पनि जिम्मेवारी लिँदैनन्। सवैले अधिकार खोजे आफ्नो कर्तब्य सवैले बिर्से। संकटसँग जुध्न कोही तयार छैनन् तर संकट निम्ताउनमा सवै सहभागी भए। संकट समाधानमा जुट्दैनन् कुनै पनि प्रकारले उत्तरदायी लिँदैनन्, तर कुनै पनि अछुतो छैन।
किनकि यो अवस्था ल्याउन राजनैतिक दल, संघ संस्था, नागरिक समाज, बुद्धिजिवी सबै उत्तिकै जिम्मेवार छन् जति राजनीतिक दल छन्। यस्तो संक्रमणको अवस्थाबाट गुज्रँदै गएको कहालीलाग्दो दिनको प्रत्यक्ष प्रभाव युवा वर्गले भोग्नुपरेको छ जो प्रजातन्त्र पुनः स्थापना समयमा बालक थिए, गणतन्त्र स्थापना हुनेबेला युवा भए अहिले युवाहरु वयस्क भइसकेका छन्।
ती वयस्क युवाहरुले आफ्नो अस्तित्व, राष्ट्रको अस्तित्व, आफ्नो संस्कृतिको अस्तित्व जोगाउने अवस्था आएको छ। आफू कुन धरातलमा उभिएको छ छुट्याउनु पर्ने भएको छ। निष्कलंक र निर्दोष युवा वर्गले राष्ट्रको अस्तित्व बचाउनु पर्ने समय आएको छ। सबैको परीक्षा भइसकेको छ।
बिद्यमान दलका नेतृत्व व्यक्तित्वको पहिचान भैइसकेको छ। पटक पटक परीक्षामा उत्तिर्ण हुन सकेनन्। नेतृत्वले मौका परीक्षा पाएकै हुन। पास हुन सकेनन्। अवसर गुमाउँदै गए। जनतालाई गुमाराहमा राख्दै देश चलाई रहेका छन्।
वर्तमान नेतृत्वसँग थप आशा गर्न सकिने अवस्था देखिँदैन समाजमा, राष्ट्रमा निर्दोषको संख्या अत्याधिक छ। तर अपराधीहरुसँग लड्न नसक्नेहरुको गणना गर्नुको के अर्थ रह्यो जो कुनामा बसेर गुनासो मात्र गर्छ। अपराध सहनु र भोग्नु पनि त अपराध नै हो।
त्यसैले भन्ने गरिन्छ अपराध गर्नुभन्दा अपराध सहने झन् ठूलो अपराधी हो। आज त्यस्तै हुन गएको छ। नत्र भने समाजमा निर्दोषको संख्या धेरै हुँदाहुँदै पनि जताततै भ्रष्टाचार घुसखोरी अपराधको श्रृंखला बढ्दै गएको छ। यसको प्रतिकार गर्न नसक्नुको कारण मनोबल कमजोर हुनु हो। युवामा प्रतिकार गर्ने क्षमता क्षण हुनु हो।
यो सबै अस्थिरताको कारणले हो। विश्वको इतिहास हेर्दा राष्ट्रलाई अग्रगामीतिर डोर्याउने वर्ग नै युवा हो। त्यसैले हाम्रो देशको सम्पूर्ण आशा र भरोसा पनि युवा वर्गमा नै छ। नेपालमा २००७ साल, २०४६ सालमा जति राजनैतिक ब्यबस्था परिवर्तन भए ती सबै युवा वर्गको कारणले नै भएका हुन्।
बि. सं. २०४६ सालमा परिवर्तन ल्याउने युवाहरूले ठूलो धोका खाए, किनकि त्यो परिवर्तन २०५२ साल अर्थात् छोटो अवधिमा असफल सिद्ध भयो। कारण स्पष्ट छ—देशमा न भौतिक विकास हुन सक्यो, न त सिद्धान्त र नैतिकतामा आधारित समाज व्यवस्था कायम भयो।
गरिबीको रेखा निरन्तर बढ्दै गयो। नैतिकताको धरातल अझ कमजोर भयो। परिवर्तन र त्यसको प्रतिक मानिएको संविधान हुने खानेका लागि मात्र भयो। धनी र गरिबबीचको भेद बढ्दै गयो। नयाँ धनीहरू पैदा भए, सामान्यजन देशबाट पलायन भए।
गरिबलाई जीविकाको अधिकार प्राप्ति भएन र त्यसको लागि कुनै व्यवस्था पनि गरिएन। यी कारणहरूले गर्दा युवा वर्गले फेरि २०६२-६३ आन्दोलन गरे र नयाँ राजनीतिक परिवर्तन ल्याए। परिवर्तन पश्चात देशका सबै भूभागमा क्षेत्र-जातिको नाममा संगठन खडा भए।
जाति, क्षेत्रलाई राजनीतिक साघुरो घेराभित्र कैद गरी राजनीतिक दलहरू आफ्नो स्वार्थ पूरा गर्न तल्लीन भए। फेरि युवा वर्गलाई धोका दिए, किनकि राजनीतिक दलहरूले युवा वर्गलाई एकजुट हुन नदिनुका लागि र सधैं युवाको काँधमा चढेर राजनीतिक स्वार्थ पूरा गर्नका लागि विभिन्न बहाना गरिरहेका छन्।
युवा युवा बीच फुट ल्याउनलाई जनवर्गीय संगठनको बहानामा मिल्न दिएका छैनन्। विद्यार्थीहरूले विद्यार्थीको समस्या समाधानको लागि होइन, जनवर्गीय संगठनको काम गरिरहेका छन्।
राष्ट्र सेवक कर्मचारी, शिक्षक, प्रध्यापक, पत्रकार, बुद्धिजीवी कोही पनि स्वतन्त्र छैनन्। सबै बाँधिएका छन्। सबै जनवर्गीय संगठनको काम गरिरहेका छन्। एक आपसमा मिल्न दिँदैनन्। राजनीतिक दलका शीर्ष नेताहरूले युवा दस्ता गठन गर्नको लागि होडबाजी गर्छन्।
चित्त नबुझे हतियार उठाउने धम्की दिन्छन्। देशको अर्थतन्त्र जर्जर छ, तर त्यस तर्फ कसैको ध्यान छैन। पूर्व विशिष्ठको सेवा सुविधा बढाउन र व्यवस्थित गर्न सरकार लागि परेको छ। वास्तविक अवस्थाको निराकरणका बारेमा कहीं कतै बहस हुँदैन।
देशका बाहुवल र बुद्धिवल सबै युवाहरू पलायन हुँदैछन्। यो देशको लागि दुर्भाग्य हो। त्यसैले युवा वर्गले राष्ट्रको लागि सचेत हुने अवस्था आएको छ। आज यी राजनीतिक दलका नेतृत्व व्यक्तिहरूका कारणले गर्दा विश्वका महाशक्ति राष्ट्रहरूको प्रत्यक्ष अप्रत्यक्ष रूपमा देश खेल मैदान बनेको छ।
देशको अस्मिता लुटिएको छ। राष्ट्रमाथि प्रश्न चिन्ह खडा भएको छ। जनता निरीह छन्। मुकदर्शक भएका छन्। त्यसैले सबैको आश्रय र साझा उद्देश्य राष्ट्र नै हो। राष्ट्रलाई चिन्तन र संगठनको केन्द्रविन्दु सम्झनु पर्दछ। राष्ट्र बाहेक अरू कुनै पनि विषय सबै नेपालीको साझा हुन सक्दैन।
त्यसै विन्दुका वरिपरी नेपाली समाजलाई घुमाउने लक्ष्य लिनु पर्दछ। क्रान्तिकारी चिन्तन गर्नेले राष्ट्रहितको लागि जाति, क्षेत्र, भाषाको आधारलाई छोड्नु पर्दछ। यी मध्ये कुनै एक वा अनेक आधार बोकेर हिँड्ने व्यक्ति वा संगठन राष्ट्रवादी हुन सक्दैन र प्रजातन्त्रवादी पनि हुन सक्दैन।
त्यसैले युवा वर्गले अग्रगामी राष्ट्रवादको लागि नेतृत्व लिन सक्नुपर्दछ र त्यो नेतृत्व राष्ट्रहितको लागि हुनुपर्दछ। सामाजिक रूपान्तरण नभएर भौतिक विकासले मात्र मुलुक समृद्धिशाली बन्न सक्दैन। सामाजिक रूपान्तरणको लागि युवा वर्गले धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्दै राष्ट्रिय अनुकूल परिवर्तन गर्नुपर्दछ।
कुनै पनि परिवर्तन एकै चोटी गर्दा त्यसको असर समाजमा नराम्रो पर्न सक्छ। तसर्थ, क्रान्तिकारी चिन्तन बोकेका युवाहरूले मुलुकको भविष्यको सोच राख्दै आर्थिक, भौतिक, र सामाजिक रूपान्तरणको लागि विभिन्न संगठनमा आस्था राखे पनि साझा उद्देश्यको लागि विवाद नगरि एकै थलोमा बसेर बहस गर्न सक्ने बानीको विकास गर्नु पर्दछ जसले गर्दा हाम्रो मुलुक अग्रगामी तिर जाने छ।
Facebook Comment